समाज |

मनाङमा एकजना सम्पर्क बिहीन

बेलिना थापा

लमजुङ, पुस १४ गते । हिमाली जिल्ला मनाङमा निरन्तर हिमपात हुँदा एकजना सम्पर्क बिहीन भएका छन्। गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका ४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कबिहिन हुनुभएको प्रहरीले जनाएको छ ।

उनीसँगै ३ जना गाउँमाथिको लुम्रुचोक भन्ने स्थानमा रहेको भेडिगोठ गएका थिए । बुधबार बिहान १० बजेतिर गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट गुरुङ बेपत्ता भएको मनाङमा प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य २ जना घर आए पनि आच्यो बाटोबाटै सम्पर्क बिहीन हुनुभएको हो । साथीसँग घर नफर्किएपछि गाउँलेले खोजी गरेका छन् । घर फर्किने बेलामा हिउँ परिरहेकाले हिउँ पहिरोमा परेको अनुमान प्रहरीले गरेको छ । उनको अवस्था के छ भन्ने जानकारी लिन नसकिएको प्रहरीले जनाएको छ ।

हिउँ परिरहेकाले तत्काल जान नसकिएको र बिहीवार बिहान खोजी कार्य हुने प्रहरीको भनाइ छ । लुम्रुचोक गाउँबाट करिब २ घन्टामा पुग्न सकिने स्थानीय दुधबहादुर गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार गोठ लिएर फर्किनेक्रममा आच्यो बेपत्ता हुनुभएको हो। गाउँबाट केही परसम्म खोज्न जाँदा नभेटिएको उहाँले बताउनुभयो गोठ भएकै ठाउँमा पुग्न हिमपातका कारण नसकिएको उहाँको भनाइ छ ।