समाज |

मतदाता परिचयपत्र हराए के हुन्छ ?

हुम्ला फागुन ६ गते। मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयले पुनः मतदाता परिचयपत्र दिने भएको छ। आगामी वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय निर्वाचनमा कुनै पनि मतदाता मतदान कार्यबाट वन्चित नहुन भन्नका लागि कार्यालयले यो व्यवस्था गर्न लागेको हो।

जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले यसअघि कार्यालयबाट मतदाता परिचय पत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र दिन सकिने बताउनुभयो।
उहाँले त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेश गर्नुपर्ने बताउनुभयो।

उहाँले कारणवश पहिले लिएका तर हाल सम्बन्धित व्यक्तिसँग मतदाता परिचयपत्र नभएको अवस्थामा पुनः अर्को परिचयपत्र व्यवस्था गर्न सकिने अवस्था रहेको बताउनुभयो। निर्वाचन आयोगले नै परिपत्र गरेर यस्तो निर्देशन दिएको हो।

उहाँले यसअघि मतदाता परिचयपत्र लिएका तर हालसँगै नभएका व्यक्तिले समेत मतदान कार्यमा सहभागिता गराउनका लागि यो कार्य गर्न लागिएको बताउनुभयो। यसका लागि सबै गाउँपालिकामा पत्राचार समेत गरिएको कार्यालयले जनाएको छ।