खेलकुद |

सन्दीपले उत्कृष्ट बलिङ गर्दागर्दै जमैकाको तेस्रो हार

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ११ गते । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दागर्दै जमैका तलावाजले क्यारेबियन प्रिमियर लिगको आफ्नो पाँचौं खेलमा ३६ रनले हार बेहोरेको छ । पाँच खेलमध्ये तीनमा हार र दुईमा मात्रै जित हात पारेको जमैका छ टोलि सहभागी प्रतियोगिताको अङ्कतालिकामा पाँचौं स्थानमा धकेलिएको छ । सन्दीपले चार ओभरमा मात्र १६ रन खर्चेर दुई विकेट लिनुभयो ।
बारबाडोस ट्रिडेन्टले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याउँदै जमैका तलावाज २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा ११२ रनमा रोकिन पुग्यो । सन्दीप लामिछाने चार र फिडेल एडवार्डस् दुई रन बनाएर अविजित रहनुभयो । ओपनर ग्लैन फिलिप्सको रुपमा खाता नखोल्दै विकेट गुमाएको जमैकाले औसत लक्ष्य पछ्याउने क्रममा २७ रन जोड्दासम्म चार विकेट गुमाउन पुग्यो । जर्माइन ब्ल्याकऊड २८ र रुमाह बूनरले सर्वाधिक ३१ रनको योगदान दिएपनि लक्ष्यसम्म पुग्न अपर्याप्त भयो । पूछारमा मुजिब ऊर रहमानले १८ रन बनाउँदासम्म लक्ष्य टाढिसकेको थियो ।
बारबाडोसका लागि मिसेल शान्टनर, जैसन होल्डर, रेमन रैफर र राशिद खानले सामान दुई दुई तथा हेडन वाल्शले एक विकेट लिनुभयो । राशिद खान दुई विकेट लिएपनि महँगो साबित हुनुभयो । उहाँले चार ओभरमा ३३ रन खर्चिनुभयो ।
यसअघि टस हारेर ब्याटिंग गर्ने निम्ता पाएको बारबाडोसले २० रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । मध्यक्रममा कायल मेयर्सले मात्र ५९ बलमा तीन चौका र आठ छक्का लगाउँदै ८५ रनको योगदान गरेपछि बारबाडोसको पारी औसत योगफलसम्म पुग्न सफल भयो । कप्तान जैसन होल्डर १५ रन बनाउनुभयो ।
ममैकाका लागि मुजिब उर रहमानले सर्वाधिक तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । मुजिब चार ओभरमा मात्र १४ रन खर्चिनुभयो । क्रैग ब्रैथवेट र फिडेल एडवार्डसले एक एक विकेट लिनुभयो ।