खेलकुद |

जमैकाले सेमीफाइनलमा ट्रिनबागो नाइट राइडर्सको सामना गर्ने

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । नेपाली लेग स्पिनर सहभागी जमैका तलावाजले क्यारेबियन प्रिमियर लिगेको आफ्नो अन्तिम खेलमा समेत हार बेहोरेको छ । सेन्ट लुसिया जौक्सले जमैकालाई ११ रनले हराएको छ ।
सेन्ट लुसियाले प्रस्तुत गरेको १४६ रनको औसत लक्ष्य पछ्याउने क्रममा जमैका ४५ बलमा ४४ रन जोड्दा नौ विकेट गुमायो । पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जमैकाले उत्कृष्ट सुरुवात गर्यो । मध्यक्रम र पुछारका ब्याट्सम्यानले संयमित ब्याटिंग गर्न नसक्दा ऊ बलियो स्थितिमा पुगेर पनि खेल गुमाउन पुग्यो । ओपनर जर्माइन ब्ल्याकऊडले सर्वाधिक २५ तथा ग्लैन फिलिप्सले ४८ रनको व्यक्तिगत योगदान दिनुभयो । स्पिनर चम्किएपछि जमैकाको ब्याटिंग २० ओभरमा नौ विकेटको क्षतिमा १३४ रनमा सीमित हुन पुग्यो ।
सेन्ट लुसियाका लागि जहिर खान र जभिन ग्लेनले सामान तीन तीन विकेट लिनुभयो । केस्रिक विलियम्सले दुई विकेट लिनुभयो ।
यसअघि टरौबामा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको सेन्ट लुसियाले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १४५ रनको सामान्य योगफल तयार गरेको थियो । उसको पारिमा रखिम कोर्नवालले ३२, रोष्टन चेजले ३२ तथा नजिबुल्लाह जर्दनले सर्वाधिक ३५ रन बनाउनुभयो ।
जमैकाका लागि सन्दीप लामिछानेले चार ओभरमा २० रन खर्चेर एक विकेट लिनुभयो । उहाँले बलिंगको क्रममा लगातार ११ बल डट राख्दा सेन्ट लुसिया दबाबमा परेको थियो । मुजिब उर रहमानले दुई तथा फिडेल एडवार्डस्, विरासामी परमौल र क्रैग ब्रैथवेटले सामान एक एक विकेट लिनुभयो । खेलको म्यान अफ द् म्याच जहिर खान घोषित हुनुभयो । लिग चरणको लगातार चार खेलमा हार बेहोरेको जमैकाले सेमीफाइनलमा प्रतियोगिताको सबल मध्येका ट्रिनबागो नाइट राइडर्सको सामना गर्नेछ । ट्रिनबागोले लिगको दश वटै खेल जितेको छ ।