खेलकुद |

बैंग्लौरलाई हराउँदै मुम्बई प्ले अफमा पुग्यो

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १३ गते । मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादबले उत्कृष्ट पारी खेलेपछि मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लौरलाई हराउँदै इन्डियन प्रिमियर लिगको १३ औं संस्करणको प्ले अफका लागि स्थान सुनिश्चित गरेको छ । मुम्बईले १२ खेलबाट आठमा जित हात पार्दै १६ अङ्क बटुलेको छ ।
प्रिमियर लिगको ४८ औं खेलमा बैंग्लौरले प्रस्तुत गरेको १६५ रनको लक्ष्य मुम्बईले खेल सकिन पाँच बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादबले मात्र ४३ बलको सामना गर्दै दश चौका र तीन छक्काको सहयोगमा अविजित रहँदै ७९ रनको योगदान दिनुभयो । ओपनरद्वय इशान किशन र क्विन्टन डे ककले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गर्नुभयो । डे कक १८ र किशन २५ रन बनाउनुभयो । मध्यक्रममा एकपछि अर्को विकेटको पतन भएपछि सूर्यकुमारले सम्हालिएको प्रदर्शन गरेपछि ऊ लिग चरणको दुई खेल बाँकी रहँदै प्ले अफका लागि स्थान सुनिश्चित गरेको हो ।
बैंग्लौरका लागि मोहम्मद सिराज र यूज्वेन्द्र चाहलले सामान दुई दुई तथा क्रिस मोरिसले एक विकेट लिनुभयो ।
यसअघि अबुधाबीमा टस हारेर पहिला ब्याटिंग गर्ने आमन्त्रण पाएको बैंग्लौरले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १६५ रनको औसत योगफल तयार गरेको थियो । ओपनर जोश फिलिप र देवदत्त पडीक्कलले पहिलो विकेटका लागि उत्कृष्ट ७१ रनको साझेदारी गर्नुभयो । मध्यक्रममा विराट कोहली, अब्राहम डिभिलियर्स, शिवम दुबे, क्रिस मौरिसको रुपमा बैंग्लौरका चार जना ब्याट्सम्यान लगालग पेभेलियन फर्किएपछि ऊ ठूलो योगफलसम्म पुग्न सकेन । गुरकिरात सिंह १४ र वाशिंगटन सुन्दर दश रन बनाएर अविजित रहनुभयो । मुम्बईका लागि जसप्रित बुमराहले सर्वाधिक तीन तथा ट्रेन्ट बौल्ट, राहुल चाहर र क्यारन पोलार्ड एक एक विकेट लिनुभयो । सूर्यकुमार प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।