क्रिस गेलको ९९ रनको पारीका बावजूद राजस्थानबाट पञ्जाब पराजित
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १५ गते । क्रिस गेलको ९९ रनको विष्फोटक पारीका बावजूद किंग्स एलेभन पञ्जाबले राजस्थान रोयलसँग पराजित भएको छ । आफ्नो १३ औं खेलमा हार बेहोरेपनि नेट रन रेट उत्कृष्ट हुँदा पञ्जाबको अन्तिम चारमा पुग्ने सम्भावना जिवितै छ । उसले १३ खेलबाट १२ अङ्क बटुलेको छ । अन्तिम खेलमा जित हात पारे पञ्जाब अन्तिम चारमा पुग्ने सम्भावना बलियो हुन जानेछ । यद्दपी उसले अन्य टोलिको प्रदर्शनमा निर्भर रहनुपर्नेछ । अन्तिम खेलमा पञ्जाबले चेन्नईको सामना गर्नेछ ।
अबुधाबीमा सम्पन्न खेलमा पञ्जाबले प्रस्तुत गरेको १८६ रनको लक्ष्य राजस्थान रोयलले खेल सकिन १५ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पुरा गर्यो । ओपनरद्वय बेन्न स्टोक्स र रोबिन उथप्पाले उत्कृष्ट सुरुवात गर्दै मात्र पाँच ओभरमा ६० रन बनाएर जितको आधार तयार गर्नुभयो । उथप्पाले ३० तथा स्टोक्सले मात्र २६ बलमा छ चौका र तीन छक्काको सहयोगमा अद्र्धशतकीय पारी खेल्नुभयो । सञ्जु सामसनले मात्र २५ बलमा ४८ रनको पारी खेलेर राजस्थानलाई जित नजिक पुर्याउनुभयो । कप्तान स्टिभ स्मिथले ३१ र जोस बटलरले २२ रन बनाएर अविजित रहे ।
पञ्जाबका लागि मुरुगन आश्विन र क्रिस जोर्डनले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि अबुधाबीमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पञ्जाबले २० ओभरमा चार विकेटको क्षतिमा १८५ रनको सम्मानजनक योगफल तयार गर्यो । पहिलो ओभरमै मनदीप सिंहको रुपमा विकेट खसेपछि ऊ दबाबमा आएको थियो । तर अर्का ओपनर करण लोकेश राहुलले क्रिस गेलसँग दोस्रो विकेटका लागि १२० रनको उत्कृष्ट साझेदारी गर्नुभयो । राहुल ४६ रन बनाएर पेभेलियन फर्किनुभयो । क्रिस गेलले मात्र ६३ बलमा छ चौका र आठ छक्काको सहयोगमा ९९ रनमा पेभेलियन फर्किनुभयो । पारी सकिन दुई बल बाँकी छँदा उहाँ शतक पुरा गर्न नसक्दै जोफ्रा आर्चरको शिकार हुनुभयो ।
राजस्थानका लागि आर्चरले दुई तथा बेन्न स्टोक्सले दुई विकेट लिनुभयो ।
पञ्जाबलाई हराएसँगै राजस्थानले समेत १३ खेलबाट १२ अङ्क बटुलेको छ । नेटरन रेटमा ऊ सामान १२ अङ्क रहेको कलकत्ताभन्दा माथि छ । पञ्जाब मुम्बई, बैंग्लौर र देल्हीपछि चौथो स्थानमा रहेको छ ।