खेलकुद |

देल्ही र बैंग्लौर अन्तिम चारमा, हैदराबाद र मुम्बईको खेलमा कलकत्ता निर्भर

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १८ गते । देल्ही क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लौरले इन्डियन प्रिमियर लिगको प्ले अफका लागि स्थान सुनिश्चित गरेको छ । मुम्बई इन्डिन्स यसअघि नै प्रिमियर लिगको प्ले अफमा स्थान सुनिश्चित गरिसकेको छ ।
गएराति अबेर सम्पन्न खेलमा देल्हीले बैंग्लौरलाई हराउँदै अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिनुका साथै अन्तिम चारमा स्थान पक्का गर्यो । हार बेहोरेको बैंग्लौरले समेत १४ अङ्कसहित अन्तिम चारमा स्थान पक्का गरेको हो । चौथो स्थानमा रहेको कलकत्ताको नेट रन रेट कमजोर रहेको र पाँचौं स्थानमा रहेको सनराइजर्स हैदराबादले अन्तिम खेल खेल्न बाँकी नै रहेकोले कलकत्ताको अन्तिम चार पुग्ने टुंगो लागेको छैन् ।
हैदराबादले १३ खेलबाट १२ अङ्क बटुलेको छ । उसको नेट रन रेट ०.५५५ छ । कलकत्ताको १४ अङ्क रहेपनि उसको नेट रन रेट माइनस ०.२१४ छ । हैदराबादले मंगलबारका लागि निर्धारित प्रिमियर लिगको लिग चरणको अन्तिम खेलमा मुम्बईलाई सामान्य अन्तरले मात्रै हराउन सके ऊ अन्तिम चारमा पुग्नेछ । कलकत्ता भने बाहिरिनेछ । तर हैदराबादले हार बेहोरेको स्थितिमा कलकत्ता १४ अङ्कसहित स्वतः अन्तिम चारमा पुग्नेछ । त्यत्तिबेला नेट रन रेटले अर्थ राख्ने छैन् ।