खेलकुद |

नेशन्स लिगमा फ्रान्ससँग हार्दा पोर्चुगल बाहिरियो

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३० गते । फ्रान्सले नेशन्स लिगको सेमीफाइनलमा पोर्चुगललाई हराएको छ । हारसँगै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । फ्रान्स भने फाइनलको लागि स्थान सुनिश्चित गरेको छ ।
चेल्सीका एन गोलो कान्टेले फ्रान्सका लागि गर्नुभएको एक मात्र गोल निर्णायक रहन गयो । फ्रान्सका लागि ४४ औं खेलमा सहभागी हुनुभएका कान्टेको यो दोस्रो गोल हो । फिनल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्सले हार बेहोर्दा ‘सब्स्टिच्युट’को रुपमा रंगभूमीमा उतारिएका कान्टेले पोर्चुगल विरुद्ध पहिलो रोजाइमा पर्नुभयो । दोस्रो हाफको ५३ औं मिनेटमा उहाँले गोलपोष्ट नजिकबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो । त्यसअघि म्यान्चेष्टर यूनाइटेडका एन्थोनी मार्सलको हेडर क्रसबारमा लागेर उछिट्टिएको थियो ।
फ्रान्सका लागि जोखिम रहेका क्रिष्टियानो रोनाल्डोले पहिलो हाफमा पाउनुभएको गोलको उत्कृष्ट अवसर बारमा लागेर उछिट्टिन पुग्दा पोर्चुगल गोल गर्नबाट बञ्चित हुन पुग्यो । वल्भ्सका मीडफिल्डर जोआओ मौटिन्होले दोस्रो हाफमा गर्नुभएको गोलको प्रयास फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले छेक्नुभयो ।