इंग्ल्याण्ड क्रिकेट टोलिको १५ वर्षपछि हुन लागेको पाकिस्तान भ्रमण स्थगित गर्न प्रस्ताब
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २ गते । इंग्ल्याण्ड क्रिकेट बोर्डले आगामी जनवरीका लागि निर्धारित पाकिस्तान भ्रमण तात्कालका लागि स्थगित गर्ने प्रस्ताव गरेको छ । इंग्ल्याण्ड क्रिकेट टोलीले आगामी जनवरी महिनामा पाकिस्तान भ्रमण गर्ने सहमति भएको थियो ।
इंग्ल्याण्ड क्रिकेट टोली जनवरी महिनामा श्रीलङ्का र भारतमा टेष्ट खेल्न आउनेछ । लगत्तै इंग्ल्याण्डका शिर्ष खेलाडीले अष्ट्रेलियामा हुने बिग बैश लिगमा सहभागी हुने भएकोले तात्कालका लागि बहुप्रतिक्षित पाकिस्तान भ्रमण आगामी वर्षको अन्त्य सम्मका लागि स्थगित गर्ने प्रस्ताब गरिएको छ ।
इंग्ल्याण्डले यसअघि यूएईमा अभ्यासका लागि होल्ड गरेर चार दिने पाकिस्तान बसाईको तयारी गरेको थियो । उक्त यात्राका लागि इंग्ल्याण्डले करीब आठ लाख यूरो खर्चिनुपर्ने हुन्छ । पाकिस्तानमा छोटो समयको बसाई र दर्शकको अनुपस्थितिले गर्दा प्रसारण अधिकारबाट आउने आयले धान्न नसक्ने दुबै बोर्डको बुझाइ छ ।
इंग्ल्याण्डले खेल्नैपर्ने अवस्था आए आफ्नो सी श्रेणिको टोली पाकिस्तान भ्रमणमा पठाउने प्रस्ताब गरेको छ । तर पाकिस्तानले १५ वर्षपछि इंग्ल्याण्डलाई आयोजना गर्न लागेकोले ढिलै भएपनि राष्ट्रिय टोली पठाउन जोड दिएको छ ।
आगामी वर्षकै अक्टोबर र नोभेम्बर महिनामा भारतमा टी ट्वान्टी विश्वकपको आयोजना हुनेछ । दुबै टोलिले विश्वकपको तयारी स्वरुप पूर्ण टोलीबीच नै तीन म्याचको टी ट्वान्टी श्रृखंला खेल्ने रणनीतिमा काम गरिरहेको क्रिकइन्फोले उल्लेख गरेको छ ।