केन विलियम्सन र ट्रेन्ट बौल्ट टी ट्वान्टी टोलीबाट बाहिर
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २ गते । डेभोन कोन्वे पहिलो पटक न्युजिल्याण्डको राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको छ । वेष्टइन्डिज विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि क्रिकेट न्युजिल्याण्ण्डले घोषणा गरेको टोलीमा नियमित एघारभन्दा पाँच जना खेलाडी परिवर्तन गरिएको छ ।
वेष्टइन्डिज विरुद्धको टी ट्वान्टीमा टिम साउदीले न्युजिल्याण्डको नेतृत्व गर्नुहुनेछ । कोलिन मुनरो टोलीमा अटाउनुभएन । बिग बैश लिगसँगको अनुबन्धनले उहाँ नखेल्ने भएपछि बाहिरिनुभएको छ । केन विलियम्सन समेत टोलीमा रहने छैन् । उहाँलाई टेष्ट श्रृखंलाको तयारीका लागि आराम दिइएको छ । तिब्र गतिका बलर ट्रेन्ट बौल्ट समेत टोलीमा हुनुहुन्न । कोलीन डी ग्राण्डहम र अजाज पटेल घाईते भएर निको हुन सकेको छैन् । दुबैजना टोलीमा फर्किएपनि फिटनेशको प्रश्न यथावत रहने जनाइएको छ ।
कायल जमिन्सन पनि पहिलो पटक टी ट्वान्टी टोलीमा स्थान प्राप्त गर्नुभएको छ । रोस टेलर र टीम साउदीसँगै जमिन्सन पनि पहिलो दुई टी ट्वान्टीमा मात्रै सहभागी हुनुहुनेछ । इन्डियन प्रिमियर लिगबाट फर्केका खेलाडीको १५ दिने आइसोलेशनको समय सकिएको भोलीपल्टै २७ नोभेम्बरमा वेष्टइन्डिज विरुद्धको पहिलो टी ट्वान्टी खेल हुनेछ ।