खेलकुद |

फ्रान्ससँग हार्दा स्वीडन रेलिगेशनमा

गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३ गते । यूइएफए नेशन्स लिग अन्तगर्तको खेलमा फ्रान्सले स्वीडनमाथि जित हात पारेको छ । फ्रान्स विरुद्ध ४–२ को हार बेहोरेको स्वीडन भने रेलिगेशनमा परेको छ ।
फ्रान्सको जितमा चेल्सीका स्ट्राइकर ओलिभर जिरौडले हाफ टाइम अघि र पछि गरी दुई गोल गर्नुभयो । उहाँले फ्रान्सको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फुटबलमा ४४ औं गोल पुरा गर्नुभयो । आर्सनलका महान खेलाडी थिएरी हेनरीको कीर्तिमानभन्दा उहाँ सात गोल पछाडि हुनुहुन्छ ।
भिक्टर क्लैस्सोनले खेल सुरु भएको चौथो मिनेटमै गोल गर्दै स्वीडनलाई महत्वपूर्ण अग्रता दिलाउनुभयो । तर उक्त अग्रता लामो समय टिक्न सकेनन । ओलिभरले १८ औं मिनेटमा बराबरी गोल फर्काउनुभयो । ३६ औं मिनेटमा बेञ्जामिन पभार्डले गोल अन्तरलाई दोब्बर पार्नुभयो । हाफ टाइमसम्म २–१ मा पुगेको खेलमा हाफ टाइमपछि ५९ औं मिनेटमा ओलिभरले आफ्नो दोस्रो गोल पुरा गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाउनुभयो ।
रोबिन क्वैसनको गोलले स्वीडनका लागि केही आशा त जगायो तर किंग्स्ली कोमनले फ्रान्सका लागि गर्नुभएको चौथो गोल खेलको अन्तिम गोल हुन पुग्यो ।
स्वीडन अब लिग बीमा झर्ने भएको छ । विश्व च्याम्पियन फ्रान्स यसअघि नै नेशन्स लिगको फाइनलमा स्थान सुनिश्चित गयरिसकेको छ ।