म्यान्चेष्टर सिटीका पेप गार्डिओलाको कार्यकाल दुई वर्षँ थपियो
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ४ गते । पेप गार्डिओला थप दुई वर्ष म्यान्चेष्टर सिटीका व्यवस्थापक रहनुहुने भएको छ । बार्सिलोना र बेयर्न म्युनिकको व्यवस्थापकीय जिम्मेवारी सम्हालिसक्नुभएका गार्डिओलाको सिटीसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिन लागेको थियो ।
सन् २०१६ मा आबद्ध भए यता आफ्नो कार्यकालमा गार्डिओलाले सिटीलाई दुई पटक प्रिमियर लिगको उपाधि, एफ ए कप र तीन लिग कप उचाल्न सघाउनुभएको छ । गार्डिओलाले सिटीको वेबसाइटमा लेख्नुभएको छ, “यसप्रकारको सहयोग र समर्थन पाउनु एक जना व्यवस्थापकका लागि सबैभन्दा उत्तम हो ।”
सन् २००८ मा व्यस्थापकीय जिम्मेवारी सम्हाले यता पाँच वर्षसम्म कुनै टोलीसँग सम्झौता गरेको गार्डिओलाको यो पहिलो अबसर हो । गार्डिओलाको ब्यवस्थापनमा सिटीले २४५ म्याच खेलेकोमा १८१ खेल जितेको छ । जित प्रतिशत ७३.८७ हो ।