टेलर, साउदी र जमीन्सनलाई आराम
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १५ गते । वेष्टइन्डिज विरुद्धको तेस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डले आफ्ना तीन प्रमुख खेलाडीलाई आराम दिएको छ । तेस्रो टी ट्वान्टी आज हुँदैछ ।
पहिलो दुई टी ट्वान्टी जितेर श्रृखंला हात पारिसकेको घरेलु टोलीले टेष्ट खेलको पूर्ब तयारी स्वरुप टोलीका कप्तान टिम साउदी, रोस टेलर र कायल जमीन्सनलाई आराम दिएको छ । वेष्टइन्डिजले भने बलिंग र ब्याटिंग दुबैमा न्युजिल्याण्डलाई चुनौती दिन सकेको छैन् । उच्च योगफलको दुबै खेलमा वेष्टइन्डिजका कप्तान क्यारन पोलार्डबाहेकका कुनै पनि ब्याट्सम्यानले अद्र्धशतक लगाउन सकेका छैन् ।
टिम साउदीको अनुपस्थितिमा १४० अन्तर्राष्ट्रिय म्याच खेलेका अनुभवी मिसेल सान्टनरले पहिलोपटक न्युजिल्याण्डको नेतृत्व गर्नुहुनेछ । तीनैजनाको स्थानमा न्युजिल्याण्डले डज ब्रासवेल, स्कट्ट कुग्लेजिन र मार्क च्यापम्यानलाई टोलीमा स्थान दिएको छ ।
न्युजिल्याण्डले दोस्रो टी ट्वान्टी खेलमा मात्र तीन विकेटको क्षतिमा २३८ रनको विशाल योगफल तयार गरेको थियो । वेष्टइन्डिज उक्त खेल ७२ रनले हार्न पुग्यो । ग्लैन फिलिपले उक्त खेलमा न्युजिल्याण्डका लागि टी ट्वान्टी अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा तेज शतक लगाउने कीर्तिमान बनाउनुभयो ।