इंग्ल्याण्ड टी ट्वान्टीको शीर्ष वरीयतामा उक्लिने
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १६ गते । दक्षिण अफ्रिका विरुद्धको तेस्रो टी ट्वान्टी खेलमा जितसँगै इंग्ल्याण्डले आईसीसी टी ट्वान्टीमा विश्व वरीयताको शीर्ष स्थानमा उक्लिने सम्भावना बढेको छ । इंग्ल्याण्ड हाल विश्व वरीयताको दोस्रो स्थानमा छ । शीर्ष स्थानको अष्ट्रेलियाभन्दा उसको रेटिंग प्वाइन्ट्स एक अङकले कम छ ।
दक्षिण अफ्रिकाको पार्लमा घरेलु टोली विरुद्धको दोस्रो जितसँगै इंग्ल्याण्डले तीन म्याचको टी ट्वान्टी श्रृखंला २–० ले जितिसकेको छ । सन् २०१८ यता इयन मोर्गन नेतृत्वको इंग्लिश क्रिकेट टोलीले टी ट्वान्टी श्रृखंला हारेको छैन् । पछिल्लो दुई वर्षमा उसले टी ट्वान्टीका सशक्त टोलीहरु अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्टइन्डिजलाई हराएर चुनौती पार गरेको छ ।
दक्षिण अफ्रिकाले पहिलो दुबै टी ट्वान्टीमा इंग्ल्याण्डलाई चुनौती दिए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन ।