लगातार पाँचौं हारपछि भारतको शान्त्वना जित
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १८ गते । भारतले लगातार पाँच अन्तर्राष्ट्रिय एकदिवसीय हारपछि पहिलो जित दत्र्ता गरेको छ । अष्ट्रेलिया विरुद्धको श्रृखंलाको पहिलो दुई एकदिवसीय हारेर श्रृखंला गुमाएको भारतले तेस्रो एकदिवसीय जित हात पारेको छ ।
भारतले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलिया पुरा ५० ओभर खेल्न नपाउँदै मात्र २८९ रनमा समेटियो । अष्ट्रेलियाको पारीमा कप्तान आरोन फिञ्चको ७५ तथा ग्लैन म्याक्सवैलको ५९ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले संयमित पारी खेल्न सकेनन । ओपनर देविड वार्नरको अनुपस्थितिमा मार्नस लबुस्नेले पारीको सुरुवात गर्नुभएको थियो । तर लबुस्ने सात रनमै आउट भए । भारतले नियमित अन्तरालमा विकेट लिएपछि अष्ट्रेलियाको पारी लक्ष्यभन्दा १३ रन टाढा रह्यो । भारतका लागि बलिंगमा गरिएको परिवर्तन तेस्रो एकदिवसीयमा सफल साबित भयो । मोहम्मद सामी र नवदीप सैनीको स्थानमा टी नटराजन र श्रद्धुल ठाकुरले अवसर पाए । दुबै जनाले पाँच विकेट लिए । जसप्रित बुमराहले दुई तथा रबिन्दर जडेजा र कुलदीप यादबले एक एक विकेट लिए ।
यसअघि क्यानबेरामा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको भारतको पहिलो विकेट २६ रनकै स्थितिमा शिखर धवनको रुपमा झर्यो । कमजोर सुरुवात गरेको भारतीय मध्यक्रम पुनः लरखराएपछि पुछारका हार्दिक पाण्ड्या र रबिन्दर जडेजाले उत्कृष्ट साझेदारी गरेपछि ऊ ५० ओभरमा ३०२ रनको औसत लक्ष्यसम्म पुग्न सफल भयो । दुबैजनाले छैठौ विकेटका लागि अविजित १५० रनको साझेदारी गर्नुभयो । पाण्ड्याले ७६ बलमा ९२ रन बनाउँदा जडेजा मात्र ५० बलमा ६६ रनको योगदान दिनुभयो । दुबैजनाले १०८ बलमा १५० रन जोडेर भारतलाई औसत योगफलसम्म पुर्याए । कप्तान विराट कोहलीले ६३ रनको योगदान दिनुभयो ।
प्लेयर अफ द् म्याच पाण्ड्या घोषित हुनुभयो । स्टिभ स्मिथ प्लेयर अफ द् सेरिज घोषित हुनुभयो । तीन म्याचको श्रृखंला अष्ट्रेलियाले २–१ ले जितेको छ ।