खेलकुद |

एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ कीर्तिमान

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १८ गते । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा छिटो १२ हजार रन बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाउनुभएको छ । यसअघि सबैभन्दा छिटो १२ हजार रन पुरा गर्ने कीर्तिमान महान ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा थियो ।
कोहलीले अष्ट्रेलिया विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा उक्त कीर्तिमान बनाउनुभएको हो । एकदिवसीयमा १२ हजार रन पुरा गर्न उहाँले अष्ट्रेलिया विरुद्धको खेलअघि २३ रन जोड्न बाँकी थियो । आफ्नो एकदिवसीय क्रिकेट जिवनको २४२ औं पारीमा उहाँले अष्ट्रेलियाली बलर सिन अबोट्टको बलमा १२ औं हजार रन पुरा गर्नुभयो । सचिन तेन्दुलकरलाई उक्त आँकडासम्म पुग्न ३०० एकदिवसीय खेल्नुपरेको थियो ।
भारतीय क्रिकेट टोलीका ३२ वर्षीय कप्तान कोहलीले हालसम्म २५१ एकदिवसीय खेल्नुभएको छ । उहाँको एकदिवसीय औसत करीब ६० रहेको छ । जसमा उहाँले ४३ शतक र ५९ अद्र्धशतक लगाउनुभएको छ । सन् २००८ मा उहाँले भारतको लागि अन्तर्राष्ट्रिय एकदिवसीयको सुरुवात गर्नुभएको थियो ।
सचिन तेन्दुलकरले भने सन् १९८९ देखि २०१२ सम्म ४६३ एकदिवसीय खेल्नुभएकोमा १८ हजार ४२६ रन बनाउनुभएको छ । उहाँको रन बनाउने औसत भने ४४.८३ छ । उहाँले ४९ शतक र ९६ अद्र्धशतक लगाउनुभएको छ ।
अष्ट्रेलियाका पूर्ब कप्तान रिक्कि पोन्टिङले १२ हजार रन पुरा गर्न ३१४ एकदिवसीय खेल्नुपर्यो भने श्रीलङ्काका कुमार संगाकाराले ३३६ तथा सनत जयसूर्याले ३७९ र माहेला जयवद्र्धनाले ३९९ एकदिवसीय खेल्नुपरेको थियो ।