खेलकुद |

आईपीएलको आगामी संस्करणमा दुई टोली थप्ने तयारी

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १९ गते । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले इन्डियन प्रिमियर लिगको आगामी संस्करणमा दुई टोली थप्ने तयारी गरेको छ । सन् २००८ मा पहिलो संस्करण सुरु भएदेखि मात्र आठ टोली सहभागी हुँदै आएको छ । तर यसअघि सन् २०११ को आईपीएल संस्करणमा पुणे वरियर्स र कोच्ची टस्कर्स गरी दुई टोली थपेर सहभागी हुने टोलीको संख्या १० पुर्याइएको थियो ।
बीसीसीआईको आगामी साधारण सभामा आईपीएलमा दुई टोली थप्ने तथा लस एन्जेल्समा हुने सन् २०२८ को ओलम्पिकमा क्रिकेट सामेल गराउने एजेण्डामाथि बहस हुनेछ । बीसीसीआईको अर्को साधारण सभा डिसेम्बर २४ देखि मुम्बईमा हुनेछ । साधारण सभाको एजेण्डाबारे राज्यहरुलाई पठाइएको पत्रमा बीसीसीआईले आईपीएलमा थप दुई टोली सामेल गर्नेबारे छलफल हुने उल्लखे गरिएको छ ।
दुई टोली थप्ने एजेण्डाबारे प्रिमियर लिगको पछिल्लो संस्करणको समापनको अवसरमा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहबीच पनि छलफल भइसकेको छ । दुई टोली थपिदा प्रिमियर लिग अझै लम्बिन पुग्नेछ । कुल ९४ म्याच खेलाइनेछ ।