खेलकुद |

पहिलो टी ट्वान्टीमा भारतद्वारा अष्ट्रेलिया पराजित

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १९ गते । भारतले अष्ट्रेलिया विरुद्धको पहिलो टी ट्वान्टी खेल ११ रनले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा भारतले १–० को अग्रता लिएको छ ।
केनबेरामा भारतले प्रस्तुत गरेको १६२ रनको औसत लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले पुरा २० ओभर खेलेपनि सात विकेटको क्षतिमा १५० रनमा मात्र सीमित हुन पुग्यो । अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेपनि उसको मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा घरेलु मैदानमा औसत लक्ष्य पाउन पनि उसलाई कठीन भयो । ओपनर डी आरसी शट र आरोन फिञ्चले पहिलो विकेटका लागि ५६ रन जोड्दा अष्ट्रेलियाको जित सहज देखिएको थियो । तर स्पिनर युज्वेन्द्र चाहलले उत्कृष्ट बलिंग गरेपछि अष्ट्रेलियाका लागि लक्ष्य भेटाउन मुश्किल भयो । अष्ट्रेलियाका लागि शटले ३४ तथा फिञ्चले ३५ रनको योगदान दिनुभयो । मोइजेज हेनरिक्सले ३० रन बनाउनुभयो ।
भारतका लागि चाहलले चार ओभरमा मात्र २५ रन खर्चेर उत्कृष्ट लयमा रहेका आरोन फिञ्च र स्टिभ स्मिथ तथा म्याथ्यु वाडेको गरी तीन विकेट लिनुभयो । अर्का बलर टी नटराजनले समेत तीन विकेट लिनुभयो । दीपक चाहरले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको भारतको शिखर धवनको रुपमा ११ रनमै पहिलो विकेटको पतन भएपछि ऊ दबाबमा आएको थियो । अर्का ओपनर करण लोकेश राहुल संयमित पारी खेल्दै गर्दा कप्तान विराट कोहली, सञ्जु सैम्सन, मनिष पाण्डे र हार्दिक पाण्ड्याको विकेट झरेपछि भारत थप दबाबमा परेको थियो । तर पारीको अन्त्यतिर अलराउण्डर रबिन्दर जडेजाले मात्र २३ बलमा ४४ रनको उत्कृष्ट पारी खेलेपछि भारतले २० ओभरमा सात विकेटको क्षतिमा १६१ रनको योगफल तयार गर्न सफल भयो ।
पारीको अन्तिम ओभरमा रबिन्दर जडेजा घाइते भएपछि म्याच रेफ्रीको अनुमतिमा चाहलले जडेजालाई विस्थापित गर्नुभएको थियो ।
अष्ट्रेलियाका लागि मोइजेज हेनरिक्सले सर्वाधिक तीन तथा मिसेल स्टार्कले दुई र एडम जाम्पा र मिसेल स्वेप्सनले सामान एक एक विकेट लिनुभयो । चाहल प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।