खेलकुद |

ग्राउण्डमा उत्रिनु अघि अफ्रिकी टोलीका सदस्यमा कोरोना सङ्क्रमण

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २० गते । खेलाडी मैदानमा उत्रिनुभन्दा ठीक पहिले दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको तीन म्याचको एकदिवसीय श्रृखंलाको पहिलो खेल स्थगित भएको छ ।
केपटाउनमा इंग्ल्याण्डको टोली बसबाट उत्रिनै लाग्दा पुनः फर्काएर होटेल पुर्याइएको छ । एक खेलाडीमा कोरोना सङ्क्रमण पोजेटिभ पाइएको खबर दक्षिण अफ्रिकी शिविरबाट आए लगत्तै शुक्रबारका लागि निर्धारित खेल स्थगित भएको छ ।
गत् मार्च महिनामा कोरोना सङ्क्रमण महामारीको रुपमा घोषणा गरिएपछि श्रीलङ्का भ्रमणमा रहेको इंग्ल्याण्ड टोली भ्रमण छोट्याएर फर्केपछि खेल स्थगित भएको यो पहिलो अबसर हो । दक्षिण अफ्रिकाले आफ्नो कुन खेलाडीमा सङ्क्रमणको पुष्टि भएको खुलाएको छैन् । दुबै टोली होटेलमा अलग्गिएर बसेको छ । सर्वसाधारणसँग घुलमिल हुन दिइएको छैन् ।
अफ्रिकी टोलीका चिकित्सक शुइब माञ्ज्राले परीक्षण परिणामले आफूलाई स्तब्ध बनाएको बताउनुभयो । उहाँले अधिकारीहरु अझै सङ्क्रमणको स्रोत बुझ्न क्यामरा र अन्य जानकारी एकत्रित गरिरहेको बताउनुभयो ।
गत् महिना इंग्ल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला सुरु हुनुभन्दा अघि दुई जना अफ्रिकी खेलाडीमा सङ्क्रमणको पुष्टि भएको थियो । इंग्ल्याण्डको पुरुष क्रिकेट टोलीका निर्देशक आश्ले जाइल्सले श्रृखंला स्थगित गर्ने रेफ्रीको निर्णयमा सहमति जनाउनुभयो ।
इंग्ल्याण्ड क्रिकेट टोली बिहीबार स्वदेश फर्किने तयारी गरेको छ ।
खेलाडीको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउनुहुँदै निर्देशक जाइल्सले खेलको पुर्नतालिका गरिए इंग्ल्याण्ड खेल्न तयार रहेको जानकारी दिनुभयो । यद्दपी दक्षिण अफ्रिकाका लागि उक्त कदम चुनौतीपूर्ण र असम्भव जस्तै देखिएको छ । सङ्क्रमित खेलाडीलाई विस्थापित गर्ने खेलाडीले कम्तिमा १५ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकोले अफ्रिका समक्ष उक्त विकल्प सम्भव देखिन्न । यद्दपी उसले मंगलबारका लागि निर्धारित एकदिवसीय श्रृखंलाको अन्तिम खेल अघि पुनः सबै खेलाडीको परीक्षण गर्ने तयारी गरेको छ ।