नपोलीले सान पाओलोलाई डिआगो म्याराडोना नामाकरण गर्यो
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २० गते । नपोलीले आफ्नो पूर्ब महान खेलाडी डिआगो म्याराडोनाको नाममा रङ्शालाको नामाकरण गरेको छ । स्टेडियो सान पाओलोको नाम अब स्टेडियो डिआगो अर्मेन्डो म्याराडोना हुने भएको छ ।
बीबीसीका अनुसार नपोली शहरको परिषद्ले शुक्रबार फुटबलका महान खेलाडी म्याराडोनाको नाममा रङ्शालाको नामाकरण गर्ने प्रस्ताब स्वीकृत गरेको छ । नपोली शहरका मेयर लुइगि डे मजिस्ट्रिसले समेत उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो ।
म्याराडोनाले क्लब फुटबलमा सात वर्षसम्म नपोलीको प्रतिनिधित्व गर्नुभयो । सन् १९८४ मा उहाँ स्पेनिस क्लब बार्सिलोनाबाट नपोली पुग्नुभएको थियो । सन् १९८७ को कोपा इटालिया र सन् १९८९ को यूईएफए कपको उपाधि समेत म्याराडोनाले नपोलीलाई दिलाउनुभएको थियो । २५ नोभेम्बरमा निधन हुँदा फुटबल समर्थक सान पाओलोमा जमा भई श्रद्धाञ्जली अपर्ण गरेको थियो ।
अर्जेन्टिनाका पूर्ब आक्रामक मीडफिल्डर र ब्यवस्थापक म्याराडोनाको गत् नोभेम्बर महिनामा ६० वर्षको उमेरमा निधन भएको थियो ।
म्याराडोनाको नेतृत्वमा इटालीका नपोलीले सन् १९८७ र १९९० मा गरी दुई पटक सिरी ए को उपाधि जितेको थियो ।