दोस्रो टी ट्वान्टीमा अष्ट्रेलियाको हार, श्रृखंला भारतले जित्यो
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २१ गते । भारतले अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेल छ विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी भारतले एक खेल अगावै २–० ले आफ्नो पक्षमा पारेको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १९५ रनको लक्ष्य भारतले खेल सकिन दुई बल बाँकी छँदा मात्र चार विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि ओपनर करण लोकेश राहुल र शिखर धवनबीच ५६ रनको साझेदारी हुँदा पाहुना टोलीले औसत सुरुवात गर्यो । धवनले ३६ बलमा ५२ रनको योगदान दिदा राहुलले २२ बलमा ३० रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान विराट कोहलीले ४० रन बनाउनुभयो । सञ्जु सामसनले १५ तथा हार्दिक पाण्ड्याले अविजित रहँदै मात्र २२ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४२ रनको योगदान दिएर लक्ष्य सम्म पुर्याउनुभयो । श्रेयास ऐयरले १२ रन बनाउनुभयो ।
अष्ट्रेलियाका लागि डेनियल साम्स, एन्ड्रयु टाइ र मिसेल स्वेप्सनले सामान एक एक विकेट लिए ।
यसअघि सिड्नीमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलीले २० ओभरमा पाँच विकेटको क्षतिमा १९४ रनको सम्मानजनक योगफल तयार गर्यो । अष्ट्रेलियाको पारीमा ओपनर म्याथ्यु वाडेले सर्वाधिक ५८ रनको योगदान दिनुभयो । स्टिभ स्मिथले ४६ तथा मोइजेज हेनरिक्सले २६ रन बनाएर अष्ट्रेलियाको मध्यक्रममा स्थिरता प्रदान गर्नुभयो । ग्लैन म्याक्सवेलले २२ तथा मार्कस स्टोइनिसले १६ रन बनाए ।
भारतीय बलरहरुमा टी नटराजनले दुई तथा युज्वेन्द्र चाहलले एक विकेट लिनुभयो ।
पाण्ड्या प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।