खेलकुद |

आयरल्याण्ड टोलीको घोषणा, डक्रेल, पोर्टरफिल्ड र रेन्किन बाहिरिए

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २६ गते । आयरल्याण्डले यूएई र अफगानिस्तान विरुद्धको एकदिवसीय श्रृखंलाका लागि १६ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । आगामी जनवरी महिनामा आयरल्याण्डले दुबै टोलीविरुद्ध एकदिवसीय श्रृखंला खेल्नेछ ।
गत् अगष्ट महिनामा इंग्ल्याण्ड विरुद्धको एकदिवसीय श्रृखंला खेलेका अधिकांश सदस्य टोलीमा पर्न सफल भएका छन् । यद्यपि जर्ज डक्रेल, विलियम पोर्टरफिल्ड र बोयड रेन्किन भने टोलीमा अटाएनन । प्रशिक्षक ग्राहम फोर्डले युवा अनुहारलाई प्राथमिकतामा राखेपछि तीनै जना खेलाडी टोलीमा अटाउन सकेनन् ।
गैरी विल्सन पनि टोलीबाट बाहिरिनुभएको छ । उहाँको स्थानमा आयरल्याण्ड ए टोलीको विकेटकीपर नैल रकले नियमित विकेटकीपर लर्कन टकरसँगै स्थान पाउने भएका हुन् । २२ वर्षीय तिब्र गतिका बलर देविड डिलेनि समेत टोलीमा स्थान बनाउँदै एकदिवसीयमा डेब्यु गर्न लागेका हुन् ।
आयरल्याण्डले यूएई विरुद्ध तीन म्याचको एकदिवसीय श्रृखंला खेलेपछि विश्वकप सुपर लिग अन्तर्गत अफगानिस्तान विरुद्धको एकदिवसीय श्रृखंला खेल्नेछ । अगष्टमा भएको इंग्ल्याण्ड विरुद्धको एकदिवसीय श्रृखंलामा आयरल्याण्डले २–१ ले हार बेहोर्नुपर्यो ।