खेलकुद |

फिफा पुरस्कारका लागि रोनाल्डो, लेवान्डोस्की र मेस्सीबीच स्पर्धा

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २७ गते । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले सन् २०२० को उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जुभेन्ट्सका क्रिष्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र वेयर्न म्युनिकका रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् ।
नोभेम्बर २५ मा फिफाले उत्कृष्ट वर्ष खेलाडीका लागि ११ जनाको छोटो सूची सार्वजनिक गरेको थियो । वेयर्नका लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गर्दै गोलको वर्षा गरेपछि वर्ष खेलाडीको होडमा अग्रस्थानमा देखिएका छन् । मेस्सी गत् वर्षका उत्कृष्ट खेलाडीको उपाधि विजेता हुनुहुन्छ । रोनाल्डोले सन् २०१६ र २०१७ को उपाधि जित्नुभएको थियो । च्याम्पियन्स लिगमा रियल मड्रिडलाई उपाधि दिलाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
केभिन डे ब्रुन, साडिओ माने, कायल म्बाप्पे, नेयमार, सर्जिओ रामोस, मोहम्मद सलह, थिएगो अल्कान्टरा र भर्जिल भान डाइक होडमा पछाडि परेका छन् । उपाधि विजेताको घोषणा डिसेम्बर १७ मा हुनेछ ।