विलियम्सन र बौल्टको पुनरागमन, रोस टेलर बाहिरिए
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २७ गते । पाकिस्तान विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि केन विलियम्सन र ट्रेन्ट बौल्टको पुनरागमन भएको छ । रोस टेलर बाहिरिनुभएको छ ।
न्युजिल्याण्ड क्रिकेटले घोषणा गरेको टोलीमा टिम साउदी, कायल जमीन्सन र डेरिल मिसेल दोस्रो र तेस्रो टी ट्वान्टीका लागि मात्रै उपलब्ध हुनेछन् । मिसेल शान्टनर कार्यवाहक कप्तानको जिम्मेवारीमा रहनुहुनेछ । ग्लैन फिलिप्स र डेभोन कोन्वे टोलीमा यथावत रहनेछन् । वेष्टइन्डिज विरुद्धको तेस्रो टी ट्वान्टी खेलमा फिलिप्स र कोन्वेले तेस्रो विकेटका लागि कीर्तिमानी १८१ रनको साझेदारी गर्नुभएको थियो ।
तीव्र गतिका बलर लक्की फरगुसन र हमिश बेनेट घाइते हुँदा टी ट्वान्टी श्रृखंलामा उपलब्ध हुने छैन् । टोलीमा रोस टेलरले स्थान बनाउन सक्नुभएन । विलियम्सन, फिलिप्स र कोन्वेको पुनरागमनले टेलरलाई स्थान सुनिश्चित गर्न समस्या भयो ।
अन्य बदलाबमा तीव्र गतिका बलर ज्याकब डफीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युको मौका पाउनुभएको छ । पहिलो खेलका लागि ब्लेयर टिकनर, मार्क च्यापमेन र डज ब्रासवेल उपलब्ध हुनेछन् । स्पिनरको रुपमा मिसेल शान्टनरसँगै इश सोढी र टड आस्टल घोषित टोलीमा अटाएका छन् ।
न्युजिल्याण्डले पाकिस्तानविरुद्धको पहिलो टी ट्वान्टी खेल १८ डिसेम्बरमा खेल्नेछ ।