वेष्टइन्डिजमाथि न्युजिल्याण्डको पारीको जित
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २९ गते । न्युजिल्याण्डले वेष्टइन्डिज विरुद्धको दोस्रो टेष्ट म्याच एक पारी र १२ रनले जितेको छ । जितसँगै घरेलु टोलीले दुई म्याचको श्रृखंला २–० ले आफ्नो पक्षमा पार्दै विश्व टेष्ट च्याम्पियनशीप अन्तगर्त १२० अङ्क बटुलेको छ ।
चौथो दिनको खेल छ विकेटको क्षतिमा २४४ रनबाट अगाडि बढाउँदै वेष्टइन्डिजको दोस्रो पारी मात्र ३१७ रनमा समेटिएपछि ऊ पारी अन्तरले हार्न पुगेको हो । पहिलो पारीमा वेष्टइन्डिज ३२९ रनले पछाडि परेको थियो । वेष्टइन्डिजका लागि जोन क्याम्पवेलले ६८ तथा जैसन होल्डरले ६१ र जोशुआ डे सिल्भाले ५७ रनको योगदान गरेपनि ठूलो हारबाट जोगान सकेनन् । न्युजिल्याण्डका लागि ट्रेन्ट बौल्ट र नैल वाग्नरले समान तीन तीन तथा टिम साउदी र कायल जमीन्सनले सामान दुई दुई विकेट लिए ।
यसअघि वेलिंग्टनमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलीले पहिलो पारीमा ४६० रनको सम्मानजनक योगफल तयार गर्यो । उसको पारीमा हेनरी निकोलासले संयमित पारी खेल्दै सर्वाधिक १७४ रनको योगदान दिनुभयो । डेरिल मिसेलले ४४ तथा नैल वाग्नरले ६६ रनको योगदान दिए । वाग्नर अविजित रहनुभयो ।
वेष्टइन्डिजका लागि शैनन गेब्रेल र अल्जारी जोसेफले सामान तीन तीन तथा केमार होल्डर र रोष्टन चेजले सामान दुई दुई विकेट लिए ।
न्युजिल्याण्डका तिब्र गतिका बलर कायल जमीन्सन र टिम साउदीले सामान पाँच पाँच विकेट बाँडेपछि वेष्टइन्डिज पहिलो पारीमा मात्र १३१ रनमा समेटिन पुग्यो । वेष्टइन्डिजका लागि जर्माइन ब्ल्याकऊडले बनाउनुभएको ६९ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । उसको पारीका सात जना ब्याट्सम्यानले दोहोरा स्कोर समेत जोड्न सकेनन् । क्रेग ब्रैथवेट, रोष्टन चेज र अल्जारी जोसेफ खाता नखोल्दै पेभेलियन फर्किएका छन् ।