विश्वकप क्रिकेट २०२३ को छनोट तालिका सार्वजनिक, नेपालले दुई श्रृखंला आयोजना गर्ने
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले विश्वकप क्रिकेट २०२३ को छनोट तालिका सार्वजनिक गरेको छ । कोरोना महामारीले छनोट खेलहरु स्थगित भएको थियो ।
आईसीसीको बोर्ड बैठकले भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपका लागि छनोट तालिकासहितको मार्गचित्र तय गरेको हो । आईसीसीले तय गरेको नयाँ मार्गचित्र बमोजिम तीन वटा लिगहरु खेलाइनेछन् । आईसीसी सुपर लिग, आईसीसी लिग २ र च्यालेन्ज कप हुनेछन् ।
सुपर लिगमा उत्कृष्ट हुने सात टोली विश्वकप क्रिकेट २०२३ का लागि छनोट हुनेछ । सुपर लिगमा पुछारमा रहेका पाँच टोलीले लिग २ का उत्कृष्ट तीन टोलीसँग विश्वकप क्रिकेट २०२३ का लागि छनोट खेल्नेछन् । आईसीसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टोली सहभागी हुनेछन् । भारत आयोजक भएको नाता स्वतः विश्वकपका लागि योग्य हुनेछन् ।
आईसीसीका अनुसार विश्वकप छनोटका खेलहरु जिम्बाबवेमा १८ जुनदेखि ९ जुलाई २०२३ सम्म खेलाइनेछ । त्यसअघि विश्वकप क्रिकेट लिग दुईका एकदिवसीय खेलहरु १९ मार्च २०२१ म नै सुरु हुनेछ । लिग २ को छैठौं सेरिजमा ओमानले नेपाल र अमेरिका विरुद्धको खेलको आयोजना गर्नेछ ।
लिग २ मा कुल १६ श्रृखंला खेलाइनेछ । जसमा लिग २ का सबै राष्ट्रले आयोजन ागर्ने अवसर पाउनेछन् । लिग २ को पहिलो श्रृखंला मार्च १९ देखि २८ सम्म ओमानमा हुनेछ । जसमा आयोजक ओमानसहित नेपाल र अमेरिका सहभागी हुनेछन् ।
जुलाईमा नेपालले स्कटल्याण्ड भ्रमण गर्नेछ । जहाँ नामीबिया सम्मिलित त्रिकोणात्मक श्रृखंला हुनेछ । उक्त श्रृखंला जुलाइमा हुनेछ । फेब्रुअरी २०२२ मा नेपालले यूएई र पपुवान्यूगिनीलाई आयोजन ागर्नेछ । २५ मार्च २०२२ देखि ५ अप्रिल २०२२ सम्म नामीबियामा नेपाल, स्कटल्याण्ड र आयोजक नामीबिया सम्मिलित त्रिकोणात्मक श्रृखंला हुनेछ ।
जुलाई २०२२ मा अमेरिकाले नेपाल र ओमानलाई आयोजना गर्नेछ । २२ सेप्टेम्बर २०२२ देखि २ अक्टोबर २०२२ सम्म नेपाल, यूएई र पपुवान्यूगिनीले त्रिकोणात्मक श्रृखंला खेल्नेछन् । फेब्रुअरी २०२३ मा पुनः नेपालले नामीबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक श्रृखंला खेल्नेछ । उक्त एकदिवसीय श्रृखंला नेपालको घरेलु मैदानमा हुनेछ । लगत्तै फेब्रुअरीमै नेपाल र पपुवान्यूगिनी यूएईका लागि प्रस्थान गर्नेछ । जहाँ तीनै राष्ट्र सम्मिलित एकदिवसीय श्रृखंला हुनेछ ।
उक्त श्रृखंलामा छ एकदिवसीय म्याच हुनेछ । ओमान हाल १६ अङ्कसहित तालिकाको शिर्ष स्थानमा छ । यूएई भने चार अङ्कसहित पूछारमा छ ।
अर्को चरणमा नेपालले ओमान र यूएईलाई आयोजना गर्नेछ । सन् २०२१ देखि २०२२ सम्म कुल ९६ एकदिवसीय खेल हुनेछ । जसमध्ये दुई खेल सन् २०२३ को सुरुवातमा खेलाइनेछ ।
आईसीसी लिग २ मा एकदिवसीय मान्यता पाएका कुल सात टोलीले खेल्नेछन् । ओमान, अमेरिका, स्कटल्याण्ड, नामीबिया, यूएई, नेपाल र पपुवान्यूगिनी रहेका छन् ।