खेलकुद |

न्युजिल्याण्डका तीव्र गतिका बलर फरगुसन छ साताका लागि बाहिरिए

गोरखापत्र अनलाइन
काठमाडौं, पुस १ गते । न्युजिल्याण्डका तीव्र गतिका बलर लुसी फरगुसन छ साताका लागि मैदानबाट बाहिरिनुभएको छ । ढाडको हाड भाँचिएपछि उहाँ पाकिस्तानविरुद्धको जारी श्रृखंलाको बाँकीको खेलमा समेत अनुपस्थित हुने भएको छ ।
न्युजिल्याण्ड क्रिकेटले एक वक्तब्य जारी गरी फरगुसन छ साताको लागि बाहिरिएको र सिजनको अन्त्य हुनुभन्दा अघि निको हुने विश्वास गरिएको जनाएको छ । यूएईमा आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका फरगुसनले वेष्टइन्डिज विरुद्धको तीन म्याचको टी ट्वान्टीमा सात विकेट लिनुभएको थियो ।
न्युजिल्याण्डका प्रमुख प्रशिक्षक गैरी स्टिडले भन्नुभयो, “घाइते हुनु खेलको एक पक्ष हो, तर खेलको उत्कृष्ट लयमा रहँदा यस प्रकारले सताइनु दुखदायी हो ।” बलिंग तीव्रता, गति र कलाले सेतो बलको खेलमा उहाँ उत्कृष्ट लयमा रहनुभएको छ ।
पकिस्तान विरुद्धको श्रृखंला आगामी फेब्रुअरीसम्म चल्नेछ । लगत्तै न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्ध घरेलु मैदानमा पाँच टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेपछि बंगलादेशको भ्रमण गर्नेछ । टोलि ब्यवस्थापनले फरगुसन फेब्रुअरीसम्म निको हुने अपेक्षा गरेको छ ।