खेलकुद |

एडिलेड टेष्टका लागि भारतीय टोलीको घोषणा

गोरखापत्र अनलाइन
काठमाडौं, पुस १ गते । भारतीय टोली ब्यवस्थापनले अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टका लागि प्लेइंग एलेभनको सूची सार्वजनिक गरेको छ । पहिलो टेष्ट खेल सुरु हुन दुई दिन अघिसम्म विकेटकीपर ब्याट्सम्यान को हुने, भारतले स्पिनर राख्ने नराख्ने र ओपनर ब्याट्सम्यानको रुपमा को हुने लगायतको जिज्ञासा प्लेइंग एलेभन घोषणा मेटाएको छ ।
ऋधिमन साह, रबिचन्द्रन आश्विन र पृथ्वी शा एडिलेड टेष्टमा खेल्ने भएका हुन् । शा ब्याट्सम्यान हुन् । शुबमन गिलले पछिल्लो दुई भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेपछि शाको चयनलाई लिएर आशंका उब्जिएको थियो । शाले पारीको सुरुवात गर्दै न्युजिल्याण्ड भ्रमणको क्रममा चार पारीमा शून्य, १९, ४० र ३ रन मात्रै जोड्दा चयनकत्र्ताले उहाँको स्थानमा गिलले स्थान पाउने अपेक्षा गरिएको थियो ।
भारतले पहिलो पटक एडिलेडमा डे नाइट टेष्ट खेल्दैछ । स्पिनरको भूमिका कम रहने अपेक्षा गरिएकोमा अष्ट्रेलियाली स्पिनर नाथन लियोनले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले रबिचन्द्रन आश्विनलाई अन्तिम एघारमा राख्ने निर्णयमा पुगेको हो ।
विकेटकीपर ब्याट्सम्यानको रुपमा ऋषभ पन्त पहिलो प्राथमिकतामा पर्न सक्नुभएन । उहाँको स्थानमा ऋधिमन साहलाई अवसर दिइएको छ । एशिया बाहिरको टेष्ट खेलमा विकेटकीपरको रुपमा पन्त रुचाइएका छन् । तर गत् वर्ष न्युजिल्याण्ड विरुद्धको टेष्टमा चार पारीमा मात्र ६० रन जोडेका पन्त प्राथमिकतामा पर्न सकेनन् ।
मयनक अग्रवाल र पृथ्वी शाले पारीको सुरुवात गर्नेछन् । चेतेश्वर पूजारा, कप्तान विराट कोहली, अजिन्क्यै रहाने, हनुमान बिहारी र ऋधिमन साहा मध्यक्रममा ब्याटिंग गर्नेछन् । उमेश यादब, जसप्रित बुमराह र मोहम्मद सामी तीनजना सिमरमाथि भारतको तिब्र गतिको बलिंग आश्रित हुनेछ । आश्विन स्पिन आक्रमणको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
उमेश यादब तेस्रो तिब्र गतिका बलरको रुपमा स्थान पाउनुभएको छ । भारत र अष्ट्रेलियाबीचको चार म्याचको टेष्ट श्रृखंलाको पहिलो खेल बिहीबारदेखि एडिलेडमा सुरु हुँदैछ ।