बार्सिलोनासँग हारपछि सोसिडाड शिर्ष स्थान गुमायो
गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । बार्सिलोनाले शिर्ष स्थानको रियल सोसिडाडलाई २–१ ले हराएको छ । हारसँगै स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको सोसिडाड दोस्रो स्थानमा झरेको छ । बार्सिलोना भने जितसँगै तीन अङ्क जोड्दै आठौं स्थानबाट दुई स्थान माथि उक्लेको छ । बार्सिलोनाको हाल २० अङ्क छ । एटलेटिको मड्रिड, रियल सोसिडाड र रियल मड्रिडको सामान २६ अङ्क रहेपनि पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।
विलियम जोस डा सिल्भाले २७ औं मिनेटमा गोल गर्दै रियल सोसिडाडलाई १–० को अग्रता दिलाउनुभयो । तर उक्त अग्रता लामो समय टिक्न सकेन । बार्सिलोनाका लागि जोर्डी अल्बाले ३१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याउनुभयो । पहिलो हाफ सकिन दुई मिनेट मात्रै बाँकी छँदा फ्रेन्किी डी जोङ्गले अल्बाको क्रसलाई गोलको दिशा दिदै बार्सिलोनाका लागि जित सुनिश्चित गर्नुभयो । सुरुमा उक्त गोल अफसाइड दिइएको थियो । तर भिडियो सहयोगले स्पष्ट गरेपछि बार्सिलोनाको जित सुनिश्चित गर्दै पाँचौं स्थानमा पुर्यायो ।
रियल सोसिडाडले आफ्नो पछिल्लो छ खेल बराबरी खेलेको थियो । खेलको उत्तराद्र्धतिर जोस र अलेक्जेण्डर इसाकको प्रयासलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेरस्टिजनले असफल तुल्याएपछि ऊ हार बेहोर्न बाध्य भयो ।