अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक नियुक्त
गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघका महासचिब अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिनुभएको छ ।
नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त भएपछि डेभ व्हाटमरका ब्यवस्थापक कौस्तभ लहिरीले डेभ नेपाली क्रिकेटको स्तर उकास्न र प्रमुख प्रशिक्षकको चुनौतीपूर्ण जिम्मेवारी वहन गर्न तत्पर रहेको प्रतिक्रिया दिनुभएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले करिब तीन महिना अघि प्रमुख प्रशिक्षक, महाप्रबन्धक, क्रिकेट ब्यवस्थापक, प्रमुख आर्थिक अधिकृत लगायतका पदको लागि विज्ञापन गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)सँगको अनुमतिमा पदपूर्ति गर्नुपर्ने भएकोले प्रकृया लम्बिन पुगेको थियो ।
यसअघिका प्रमुख प्रशिक्षक उमेश पटवाल गत् माघ महिनामा राजिनामा गरेपछि प्रमुख प्रशिक्षक पद रिक्त रहेको थियो । प्रमुख प्रशिक्षकका लागि गरिएको आवेदन आव्हानमा विश्वभरिबाट करिब ७७ जनाले आवेदन दिएका थिए । जसमध्ये दक्षिण अफ्रिका अलराउण्डर लान्स क्लुजनर, भारतका चेतन चौहान र श्रीलङ्काका पुबुदु दसानायके हुनुहुन्थ्यो । क्यानले अन्तिम तीन जनाको नाम सिफारिश गर्दा व्हाटमर, दसानायके र भारतीय एकजनालाई क्यान समक्ष सिफारिश गरेको थियो । क्यानले तीनजनामध्ये व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गर्न क्यानलाई सिफारिशसहित अनुमति प्रदान गरेको छ । आईसीसीसँगको समन्वयमा क्यानले जनवरी एक देखि लागू हुने गरी एकवर्षका लागि व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । क्यान स्रोतका अनुसार व्हाटमरलाई मासिक दशदेखि १२ हजार डलर तलब तथा अन्य सेवा सुबिधा दिने गरी नियुक्त गरिएको छ । व्हाटमरसँग क्रिकेट श्रीलङ्का, बंगलादेश, जिम्मबाबवे लगायतका राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको अनुभव रहेको छ । सन् २००५ देखि प्रशिक्षक हुनुभएका व्हाटमरलाई बंगलादेश क्रिकेटको स्तर उकास्ने महत्वपूर्ण ब्यक्तिको रुपमा लिइन्छ । उहाँको प्रशिक्षणमा बंगलादेश टोलीलाई अष्ट्रेलिया, दक्षिण अफ्रिका र भारत जस्ता टेष्ट मान्यता प्राप्त राष्ट्रलाई एकदिवसीय खेलमा हराउने श्रेय दिइन्छ ।
पटवाललाई दश हजार डलर मासिक तलबमा प्रमुख प्रशिक्षक नियुक्त गरिएको थियो । क्यानले
त्यसैगरी, संघले रौनक बहादुर मल्ललाई क्रिकेट नेपालका महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख आर्थिक अधिकृत र बिनोद दासलाई क्रिकेट ब्यवस्थापकमा नियुक्त गरेको छ । दास यसअघि नेपाली क्रिकेट टोलीका कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो ।