खेलकुद |

अष्ट्रेलिया १९१ रनमा समेटियो, भारतलाई ५३ रनको अग्रता

गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । भारत विरुद्धको पहिलो टेष्ट खेलको पहिलो पारीमा अष्ट्रेलिया १९१ रनमा समेटिएको छ । भारतले पहिलो पारीमा २४४ रन बनाएको थियो ।
दोस्रो दिनको खेलमा अष्ट्रेलियाका लागि टिम पैनले अविजित रहँदै सर्वाधिक ७३ रनको योगदान दिनुभयो । १११ रनमै सात विकेट गुमाएको अष्ट्रेलियाका लागि पूछारका ब्याट्सम्यानहरुले ८० रन जोडेका थिए । मिसेल स्टार्कले १५ तथा नाथन लियोनले १० रन बनाउनुभयो । मार्नस लबुस्नेले दोस्रो सर्वाधिक ४७ रनको योगदान दिनुभयो ।
भारतका लागि रबिचन्द्रन आश्विनले सर्वाधिक चार विकेट लिनुभयो । उमेश यादबले तीन तथा जसप्रित बुमराहले दुई विकेट लिनुभयो ।
यसअघि एडिलैडमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको भारतले कमजोर सुरुवात गर्दै ३२ रनमै पृथ्वी शा र मयनक अग्रवालको रुपमा दुबै ओपनरको विकेट गुमाउन पुग्यो । चेतेश्वर पूजारा र कप्तान विराट कोहलीसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेर स्थिरता दिने प्रयास गरेपनि लामो समय टिक्न सकेन । पूजारा ४३ रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान विराट कोहली ७४ रनमा रन आउट हुन पुग्दा अजिन्क्यै रहानेले ४२ रन बनाउनुभयो । १९६ रनमा मात्र पाँच विकेट गुमाएको भारतीय पारीका थप पाँच जना ब्याट्सम्यान मात्र ४८ रन जोडेर २४४ रनमा समेटियो ।
अष्ट्रेलियाका लागि मिसेल स्टार्कले सर्वाधिक चार तथा प्याट्ट क्युमिन्सले तीन तथा नाथन लियोन र जोश हयाज्लउडले सामान एक एक विकेट लिए ।