टेष्ट खेलमा भारतको एैतिहासिक निराशाजनक प्रदर्शन
गोरखापत्र अनलाइन
काठमाडौं, पुस ४ गते । टेष्ट क्रिकेटमा भारतले ४६ वर्षपछि अघिको आफ्नो कीर्तिमान भङ्ग गरेको छ । भारतले टेष्ट क्रिकेटको कुनै एक पारीमा सबैभन्दा कम रन बनाएको सन् १९७४ मा थियो ।
तर शनिबार एडिलेडमा उसले आफ्नो पुरानो कीर्तिमान भङ्ग गर्दै निराशाजनक प्रदर्शन गर्यो । पहिलो पारीमा ५३ रनको अग्रता लिएको भारतले दोस्रो पारीमा सम्हालिएको प्रदर्शन गर्दै एडिलेड टेष्ट जित्ने अपेक्षा गरिएको थियो । तर अष्ट्रेलियाका बलरद्वय जोश हयाज्लउड र प्याट्ट क्युमिन्सले भारतीय ब्याटिङग क्रमलाई तहसनहस पारे ।
भारतले दोस्रो दिनको खेल अन्त्य हुँदा एक विकेटको क्षतिमा नौ रन जोडेको थियो । ६२ रनको अग्रताबाट तेस्रो दिनको खेल सुरु गर्दा एडिलेड टेष्ट भारतको नियन्त्रणमा थियो । केही समय नबित्दै भारतीय ब्याटिङ्गका आठ जना ब्याट्सम्यान दोहोरा योगफल जोड्न नपाउँदै पेभेलियन फर्किए । र पहिलो पारीमा तेस्रो दिनको खेल सुरु हुँदा जम्मै अपेक्षा एक पछि अर्को गरी भत्किन पुग्यो । जब भारतीय पारीका आठ जना ब्याट्सम्यान १६ ओभरमा समेटिन पुग्यो । भारतले दोस्रो पारीमा कुल ३६ रन जोड्न सक्यो । यो टेष्ट इतिहासमा भारतको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो । यसअघि उसले सन् १९७४ मा इंग्ल्याण्ड विरुद्ध ४२ रन बनाएको थियो ।
तर उसले टेष्ट क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा कम योगफलको कीर्तिमानलाई भङग गर्न सकेन । उक्त कीर्तिमान न्युजिल्याण्डको नाममा रहेको छ । न्युजिल्याण्डले सन् १९५५ मा एक पारीमा बनाएको २६ रन टेष्ट क्रिकेटको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो ।