खेलकुद |

एडिलेड टेष्ट अष्ट्रेलियाले आठ विकेटले जित्यो

गोरखापत्र अनलाइन
काठमाडौं, पुस ४ गते । अष्ट्रेलियाले भारत विरुद्धको पहिलो टेष्ट खेल आठ विकेटले जितेको छ । जितसँगै चार म्याचको टेष्ट श्रृखंलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
भारतले प्रस्तुत गरेको ९० रनको लक्ष्य अष्ट्रेलिया दुई दिनको खेल बाँकी छँदै मात्र २१ ओभर खेलेर दुई विकेटको क्षतिमा पुरा गरेको हो । अष्ट्रेलियाको जितमा ओपनर म्याथ्यु वाडे र जोइ बन्र्सले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्नुभयो । वाडे ३३ रन बनाएर रन आउट हुँदा बन्र्सले अविजित रहँदै ५१ रनको पारी खेल्नुभयो । मार्नस लबुस्ने छ रन बनाएर पेभेलियन फर्किदा स्टिभ स्मिथ एक रन बनाएर अविजित रहनुभयो । भारतका लागि रबिचन्द्रन आश्विनले एक विकेट लिनुभयो ।
यसअघि दोस्रो पारीमा एक विकेटको क्षतिमा नौ रनबाट तेस्रो दिनको खेल अगाडि बढाएको भारतले थप १६ ओभर खेल्दा २७ रन जोडेर ३६ रनमा अलआउट हुन पुग्यो । भारतीय पारीका कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल जोड्न सकेनन । अष्ट्रेलियाली बलरहरु प्याट्ट क्युमिन्सले चार तथा जोश हयाज्लउडले पाँच विकेट लिनुभयो ।
अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा १९१ रनको योगफल तयार गरेको थियो । दोस्रो दिनको खेलमा अष्ट्रेलियाका लागि टिम पैनले अविजित रहँदै सर्वाधिक ७३ रनको योगदान दिनुभयो । १११ रनमै सात विकेट गुमाएको अष्ट्रेलियाका लागि पूछारका ब्याट्सम्यानहरुले ८० रन जोडेका थिए । मिसेल स्टार्कले १५ तथा नाथन लियोनले १० रन बनाउनुभयो । मार्नस लबुस्नेले दोस्रो सर्वाधिक ४७ रनको योगदान दिनुभयो ।
भारतका लागि रबिचन्द्रन आश्विनले सर्वाधिक चार विकेट लिनुभयो । उमेश यादबले तीन तथा जसप्रित बुमराहले दुई विकेट लिनुभयो ।
एडिलैडमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको भारतले कमजोर सुरुवात गर्दै ३२ रनमै पृथ्वी शा र मयनक अग्रवालको रुपमा दुबै ओपनरको विकेट गुमाउन पुग्यो । चेतेश्वर पूजारा र कप्तान विराट कोहलीसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेर स्थिरता दिने प्रयास गरेपनि लामो समय टिक्न सकेन । पूजारा ४३ रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान विराट कोहली ७४ रनमा रन आउट हुन पुग्दा अजिन्क्यै रहानेले ४२ रन बनाउनुभयो । १९६ रनमा मात्र पाँच विकेट गुमाएको भारतीय पारीका थप पाँच जना ब्याट्सम्यान मात्र ४८ रन जोडेर २४४ रनमा समेटियो ।
अष्ट्रेलियाका लागि मिसेल स्टार्कले सर्वाधिक चार तथा प्याट्ट क्युमिन्सले तीन तथा नाथन लियोन र जोश हयाज्लउडले सामान एक एक विकेट लिए ।