खेलकुद |

ज्याक्स कालिस क्रिकेट इंग्ल्याण्डको ब्याटिंग प्रशिक्षक नियुक्त

गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । दक्षिण अफ्रिकी क्रिकेट हस्ती ज्याक्स कालिस इंग्ल्याण्ड क्रिकेटको ब्याटिंग सल्लाहकार नियुक्त हुनुभएको छ । ४५ वर्षीय कालिसले ब्याटिंग सल्लाहकारको रुपमा इंग्ल्याण्डको श्रीलङ्का भ्रमणको क्रममा जिम्मेवारी ग्रहण गर्नुहुनेछ ।
कालिस यसअघि आईपीएलमा कलकत्ता नाईट राइडर्सको प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो । उहाँले दक्षिण अफ्रिकी क्रिकेट टोलीको प्रशिक्षकको भूमिका समेत निर्वाह गर्नुभएको छ । तर इंग्ल्याण्डले पछिल्लो पटक दक्षिण अफ्रिका भ्रमण गर्दा उहाँ अफ्रिकी टोलिको प्रशिक्षकको जिम्मेवारीमा देखिनुभएन ।
इंग्ल्याण्डले भारत भ्रमणमा प्रस्थान गर्नुअघि श्रीलङ्कामा दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछ । कालिसले प्रमुख प्रशिक्षक क्रिस सिल्भरऊडको मातहातमा सहायक प्रशिक्षक पौल कलिंगउड, विकेटकीपर सल्लाहकार जेम्स फोष्टर, फिल्डिङ्ग प्रशिक्षक कार्ल हप्किन्सन, बलिंग प्रशिक्षक जोन लेविस र स्पिन बलिंग प्रशिक्षक जितन पटेलसँगै प्रशिक्षण टोलीमा सहभागी हुनुहुनेछ ।
इंग्ल्याण्डले श्रीलङ्का विरुद्धको पहिलो टेष्ट खेल गलमा १४ जनवरीदेखि खेल्नेछ । दोस्रो टेष्ट खेल २२ जनवरीदेखि हुनेछ ।
ज्याक्ल कालिसले दक्षिण अफ्रिकाका लागि १६६ टेष्ट खेलमा ५५.३७ को औसतले रन बनाउँदै सन् १९९५ देखि २०१३ सम्म नियमित क्रिकेट खेल्नुभयो ।