खेलकुद |

पेरिस सैन्ट जर्माइनले जित लगत्तै प्रशिक्षक टुखेललाई बर्खास्त गर्यो

गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । पेरिस सैन्ट जर्माइनले जर्मन प्रशिक्षक थोमस टुखेललाई बर्खास्त गरेको छ । स्ट्रासबर्गमाथि पीएसजीले ४–० को जित हासिल गरेको केही घण्टा नबित्दै ४७ वर्षीय टुखेल बर्खास्त गरिएका हुन् । बोरसिया डर्टमन्डका पूर्ब प्रशिक्षक टुखेलको कार्यकाल जारी सिजनको अन्त्यमा समाप्त हुँदै थियो ।
सन् २०१८ को मई महिनामा स्पेनका यूनै इमेरीलाई विस्थापित गर्दै टुखेलले पीएसजीसँग दुई वर्षे सम्झौता गर्नुभएको थियो । उक्त सम्झौता सकिएपछि उहाँले एक वर्ष लम्ब्याउनुभयो । टट्टनहमका पूर्ब प्रशिक्षक मौरिसो पोखेटिनो पीएसजीको सम्पर्कमा हुनुहुन्छ । सन् २०१९ को नोभेम्बरमा स्पर्स त्यागे यता ४८ वर्षीय आर्जेन्टिन मौरिसो पीएसजीका लागि सन् २००१ देखि २००३ सम्म खेल्नुभएको थियो ।

थोमस टुखेलले सन् २०१८ को जुनमा प्रशिक्षकको जिम्मेवारी लिए यता सैन्ट जर्माइनले दुई पटक लिग उपाधि जितेको छ । पीएसजीले फ्रेञ्च कप र फ्रेञ्च लिग कपको उपाधि जितेको हो ।
पीएसजी गत् सिजनमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो । उपाधिको होडमा ऊ बेर्यान म्युनिखसँग १–० को हार बेहोर्यो । पीएसजी हाल लिग वान को तेस्रो स्थानमा छ । ऊ शिर्ष स्थानको लियोनभन्दा एक अङ्क तल रहेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ मा समेत उसले स्थान सुनिश्चित गरिसकेको छ ।