चेतन शर्मा प्रमुख चयनकर्ता नियुक्त
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । चेतन शर्मा भारतीय पुरुष क्रिकेट टोलीका सदस्य छनोट गर्ने समितिको प्रमुख चयनकर्ता नियुक्त हुनुभएको छ । चयनकर्ता गठनका लागि बनाइएको क्रिकेट सल्लाहकार समितिले उहाँको नाम सिफारिस गरेको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले बिहीबार उहाँलाई प्रमुख चयनकर्ता नियुक्त गरेको हो ।
नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक बन्न इच्छा देखाएका चेतन शर्मा भारतका पूर्व तीव्र गतिका बलर हुनुहुन्छ । शर्माबाहेक आबे कुरुभिला र देवाशिष मोहन्ती पाँच सदस्यीय चयनकर्ता समितिको सदस्य बस्नुहुनेछ । समितिमा सुनिल जोशी र हरविन्दर सिंहको कार्यकाल बाँकी रहेकोले तीन जनाको नाम सिफारिस गरिएको थियो । तीनैजनाले सरनदीप सिंह, जटिन परनजापे र देवाङ्ग गान्धीलाई विस्थापित गर्नेछन् ।
वर्षको सुरुमै चयनकत्र्ता समितिमा नियुक्त हुनुभएका जोशी यसअघि अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । तर शर्माको नियुक्तिपछि वरिष्ठताको आधारमा उहाँले अध्यक्षता गर्नुहुनेछ ।
सन् १९८४ मा भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएका शर्माले २३ टेष्टमा ६१ र ६५ एकदिवसीयमा ६७ विकेट लिनुभएको छ । विश्वकप क्रिकेटमा हयाट्रिक विकेट लिनुहुने उहाँ पहिलो बलर हुनुहुन्छ । सन् १९९४ मा उहाँले वेष्टइन्डिज विरुद्धको एकदिवसीयमा अन्तिम पटक खेल्नुभएको थियो ।