एकदिवसीय क्रिकेटमा पहिलो अद्र्धशतक बनाउने एड्रिकको निधन
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । इंग्ल्याण्डका पूर्ब ब्याट्सम्यान जोन एड्रिकको ८३ वर्षको उमेरमा निधन भएको छ । तिब्र गतिका बलर विरुद्ध उत्कृष्ट शट खेल्ने क्षमता भएका एड्रिक सन् १९६० र ७० दशकमा इंग्ल्याण्डको अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गर्नुभएको थियो ।
६३ वर्षको उमेरमा ल्युकेमियाबाट थलो पर्नुभएका एड्रिकलाई सन् २००० मा अझै सात वर्ष मात्रै आयु रहेको बताइएको थियो । तर दुई दशकसम्म बाँच्नुभएको उहाँको इंग्ल्याण्डमै निधन भएको क्रिकइन्फोले उल्लेख गरेको छ ।
सन् १९६३ देखि सन् १९७६ सम्म ७७ टेष्ट म्याच खेल्नुभएका एड्रिकले ४३.५४ को औसतले पाँच हजार १३८ रन बनाउनुभएको छ । पहिलो श्रेणिको क्रिकेटमा उहाँले ४० हजार रन बनाउनुभयो । सन् १९७०–७१ को एशेज श्रृखंलामा ७२ को औसतले ६४८ रन बनाएर इंग्ल्याण्डलाई २–० ले श्रृखंला जिताउन उहाँको भूमिका अझै स्मरण गरिन्छ । टेष्ट क्रिकेटमा उहाँले १२ शतक र २४ अद्र्धशतक लगाउनुभएको छ । सन् १९६५ मा हेडिंग्लेमा न्युजिल्याण्ड विरुद्ध ३१० रनको अविजित पारी उहाँको टेष्ट क्रिकेटको सबैभन्दा उत्कृष्ट पारी हो ।
एड्रिकले अन्तर्राष्ट्रिय एकदिवसीयमा समेत स्तब्ध बनाउने कीर्तिमान बनाउनुभएको छ । सन् १९७० मा अष्ट्रेलियाको मेलबर्नमा उहाँले एकदिवसीय खेलमा पहिलो चौका लगाउने, पहिलो अद्र्धशतक लगाउने तथा पहिलो प्लेयर अफ द् म्याच पुरस्कारबाट पुरस्कृत हुने कीर्तिमान बनाउनुभयो । यद्दपी उक्त खेलमा उहाँले अष्ट्रेलियासँग पाँच विकेटको हार टार्न सक्नुभएन । सन् १९७६ मा ओल्ड ट्राफोर्डमा वेष्टइन्डिज विरुद्धको टेष्ट खेल उहाँको क्रिकेट जिवनको अन्तिम खेल हुन पुग्यो । उक्त खेलमा समेत उहाँले माइकल होल्डिङगको घातक बलिंग सामु ब्रायन क्लोजसँग तेस्रो साँझ अविजित रहेर स्मरणीय पारी खेल्नुभयो ।