चार वर्षपछि अष्ट्रेलियाका जादुयी ब्याट्सम्यान स्टिभ स्मिथ ‘डक आउट’
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १२ गते । अष्ट्रेलियाका जादुयी ब्याट्सम्यान स्टिभ स्मिथ पछिल्लो चार वर्षमा पहिलो पटक टेष्ट क्रिकेटमा ‘डक आउट’ हुनुभएको छ । भारत विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १९५ रनमा समेटिदा स्टिभ स्मिथ खाता नखोल्दै शून्य रनमा पेभेलियन फर्किनुभयो ।
भारतीय स्पिनर रबिचन्द्रन आश्विनको बलिंगको क्रममा अष्ट्रेलियाले ३८ रनमा तेस्रो विकेटको रुपमा स्टिभ स्मिथको विकेट गुमाउन पुगेको थियो । पहिलो पारीमा पाँच विकेटको क्षतिमा २७७ रन जोडेको पाहुना टोलि भारतको नियन्त्रणमा दोस्रो टेष्ट देखिएको छ । भारत दोस्रो टेष्ट खेल नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा खेल्दैछ । पहिलो सन्तानको पिता बन्न लाग्नुभएका कोहली पहिलो टेष्टपछि भारत फर्किनुभएको छ ।
पहिलो टेष्ट खेलको पहिलो पारीमा समेत स्मिथ आश्विनकै बलिंगमा एक रन बनाउँदा स्लिपमा क्याच थमाउँदै आउट हुन पुग्नुभएको थियो । दोस्रो टेष्टको पहिलो पारीमा समेत स्मिथ क्रिजमा आउँदा कप्तान अजिन्क्यै रहानेले आश्विनलाई बल थमाउनुभयो । यसपटक अष्ट्रेलियाली ब्याट्सम्यान स्मिथले लेग स्लिपमा क्याच थमाउन पुग्नुभयो । उहाँले आठ बल खेल्दा खाता खोल्न सक्नुभएको थिएन । यसअघि उहाँ दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्ट खेलमा सन् २०१६ को नोभेम्बरमा डक आउट हुनुभएको थियो ।
अन्तर्राष्ट्रिय टेष्ट, एकदिवसीय वा टी ट्वान्टीमा स्मिथ अष्ट्रेलियाली मध्यक्रमका सबैभन्दा भरपर्दो ब्याट्सम्यान हुनुहुन्छ । ७४ टेष्ट खेलको १३३ पारीमा उहाँले ६२.३१ को औसतले २६ शतक र २९ अद्र्धशतकको सहयोगले सात हजार २२९ रन बनाउनुभएको छ ।