दोस्रो टेष्टमा भारत पूर्ण नियन्त्रणमा
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते। अष्ट्रेलियाले दोस्रो टेष्टको दोस्रो पारीमा दुई रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिदासम्म अष्ट्रेलियाले दोस्रो पारीमा छ विकेटको क्षतिमा १३३ रन बनाएको छ ।
चौथो दिनको खेल अष्ट्रेलियाले छ विकेटको क्षतिमा १३३ रनबाट अगाडि बढाउनेछ । उसको पारीमा क्यामरुन ग्रीनले १७ तथा प्याट्ट क्युमिन्सले १५ रनमा अविजित हुनुहुन्छ । अष्ट्रेलियाको पारीमा ओपनर म्याथ्यु वाडेको ४० तथा मार्नस लबुस्नेको १७ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन् । स्टिभ स्मिथ आठ रन बनाएर पेभेलियन फर्किनुभयो ।
भारतका लागि रबिन्दर जडेजाले सर्वाधिक दुई विकेट लिनुभयो । जसप्रित बुमराह, उमेश यादब, रबिचन्द्रन आश्विन र मोहम्मद सिराजले सामान एक एक विकेट लिए । तीन ओभरमा मात्र पाँच रन खर्चेर एक विकेट लिनुभएका उमेश यादब घाइते भएर बाहिरिएपछि भारत मात्र चार जना बलरमा सिमित हुन पुगेको छ ।
यसअघि तेस्रो दिनको खेल पाँच विकेटको क्षतिमा २७७ रनबाट अगाडि बढाएको भारतले थप ४९ रन जोड्दा बाँकीको पाँच विकेट गुमाउन पुग्दै ३२६ रनमा समेटिन पुग्यो । चार विकेटको क्षतिमा मात्र १७३ रन जोडेको भारतका लागि जडेजाले रहानेसँग पाँचौं विकेटका लागि १२१ रनको साझेदारी गर्नुभई भारतीय पारी उकास्नु भयो ।
शुबमन गिलले दोस्रो सर्वाधिक ४५ रनको योगदान दिनुभयो । ऋषभ पन्तले २९ तथा हनुमा बिहारीले २१ रन बनाउनुभयो । अष्ट्रेलियाका लागि मिसेल स्टार्क र प्याट्ट क्युमिन्सले सामान दुई दुई तथा नाथन लियोनले एक विकेट लिनुभयो ।
अष्ट्रेलियाका लागि मिसेल स्टार्क र नाथन लियोनले सामान तीन तीन तथा प्याट्ट क्युमिन्सले दुई र जोश हयाजलउडले एक विकेट लिए ।
यसअघि भारत विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १९५ रनमा समेटिएको थियो । मेलबर्नमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले ७२.३ ओभरमा १९५ रनको सामान्य योगफलमा समेटियो । ३८ रनमै तीन विकेट गुमाएको अष्ट्रेलियाका लागि मार्नस लबुस्नेले ४८ रनको पारी खेलेर टोलिको योगफल १३४ सम्म पुर्याउनुभयो । ट्राभिस हेडले ३८ तथा नाथन लियोनले २० रनको योगदान दिए ।
भारतका लागि जसप्रित बुमराहले सर्वाधिक चार तथा रबिचन्द्रन आश्विनले तीन विकेट लिनुभयो । भारतका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको मोहम्मद सिराजले दुई तथा रबिन्दर जडेजाले एक विकेट लिए । पहिलो टेष्ट जितेर चार म्याचको टेष्ट श्रृृखंलामा अष्ट्रेलिया १–० को अग्रताको स्थितिमा रहेको छ ।