खेलकुद |

प्रधानमन्त्री कप महिला टी ट्वान्टी - सुदूरपश्चिमको गण्डकीमाथि जित

गोरखापत्र अनलाइन
काठमाडौं, पुस १४ गते । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तगर्त समूह बी को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएको छ । सुदूरपश्चिमले गण्डकीमाथि ५९ रनको जित हात पार्यो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय आठ रनको लक्ष्य पछ्याउँदै गण्डकीले पुरै २० ओभर खेलेपनि छ विकेटको क्षतिमा ४८ रन मात्रै जोड्न सक्यो । गण्डकीका लागि सृष्टि पौडेलले बनाउनुभएको आठ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । सुदूरपश्चिमको बलिंगमा सुनिता लुहरले तीन तथा लक्ष्मी साऊद, ऋतु कनोजिया र कविता कुँवरले सामान एक एक विकेट लिइन् ।
यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको सुदूरपश्चिमले १९ ओभर ३ बलमा एक सय सात रनको औसत योगफल तयार गर्यो । उसको पारीमा ओपनर रेवती धामीले सर्वाधिक २७ रनको योगदान दिनुभयो ।
सृष्टि पौडेलले तीन तथा ज्योत्सिना मरासैनी, अञ्जली विश्वकर्मा र कुसुम गोदरले सामान एक एक विकेट लिइन् ।