पोखरा सडक महोत्सवको पूर्वसन्ध्यामा भेट्रान्स टेनिस
गण्डकी, पुस १४ गते । पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधि विकास गुरुङले तथा डबल्सतर्फको उपाधि नवीन जोडीले जितेको छ । पर्यटकीय क्षेत्र लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्नुभयो । डबल्सतर्फ नवीन श्रेष्ठ र नवीन चालिसेको जोडीले विकास गुरुङ र सूर्य भुजेलको जोडीमाथि ३–६, ६–३ र सुपरटाइमा १०–८ को कठीन नतीजा निकाल्दै उपाधि आफ्नो पोल्टामा पा¥यो ।
प्रतियोगितामा एकलतर्फको विजेता तथा उपविजेता खेलाडीले रु १० हजार र पाँच हजारसहित ट्रफी र डबल्सतर्फका विजेता तथा उपविजेता खेलाडीलाई रु सात हजार र चार हजारसहित ट्रफीले पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलकूदको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष दोर्जे लामा, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले टेनिस खेलको विकासका लागि प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । रेवान पोखराका उपाध्यक्ष नरेश भट्टराईले बुधबारदेखि पोखरामा शुरु हुन लागेको २२ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै महोत्सव सफल बनाउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।