खेलाडी सङ्क्रमित भएपछि फुलहम र बर्नलीबीचको खेल पनि स्थगित
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १८ गते । फुलहम र बर्नलीबीचको आइतबारका लागि निर्धारित खेल स्थगित भएको छ । कोरोनाभाइरसको सङ्क्रमणले गर्दा प्रिमियर लिगको खेल स्थगित हुन पुगेको यो चौथो अबसर हो । टर्फ मूरमा आइतबार १२ बजेदेखि उक्त म्याच हुने निर्धारण गरिएको थियो ।
फुलहमको गत् बुधबारका लागि निर्धारित टट्नहम विरुद्धको खेल समेत अन्तिम समयमा स्थगित भएको थियो । फुलहम टोलिका सदस्यहरुमा भारी संख्यामा कोभिड सङ्क्रमणको पुष्टि भएपछि बुधबारको खेल स्थगित हुन पुगेको थियो । प्रिमियर लिगले लिग र फुलहमबीच प्रकोप न्यूनीकरणका लागि अझै बढी रणनीति बनाउन सहमति भएको जनाएको छ ।
प्रिमियर लिगले एक वक्तब्य जारी गरी फुलहमले बर्नली विरुद्धको खेल पुर्नतालिका गर्न आग्रह गरेकोले स्वतन्त्र मेडिकल टोलिको सुझाब बमोजिम खेल स्थगित गरिएको उल्लेख गरेको छ । लिगले फुलहमको स्थगित दुई खेलको पुर्नतालिका छिट्टै प्रकाशित गर्ने जनाएको छ ।
फुलहम टोलिमा सङ्क्रमण पुष्टि भएका खेलाडीहरुलाई अलग्याइएको छ । फुलहमले यसअघि एलेक्जेण्डर मित्रोभिकले क्रिष्टल पैलेसका लुका मिलिभोजेभसँग नयाँ वर्षको भोजमा सहभागी भएपछि सङ्क्रमण बोकेको तथ्यमाथि अध्ययन भइरहेको जनाएको छ ।
सर्बियाका दुबै जना खेलाडीले सात जना अन्य साथीहरुसँगै नयाँ वर्षको उत्सव मनाइरहेको तस्विर सार्वजनिक भएको थियो ।
यसअघि डिसेम्बर १ मा न्युकैसल र आष्टन भिल्लाबीचको खेल स्थगित भएको थियो । २८ डिसेम्बरमा एभर्टन र म्यान्चेष्टर सिटीबीचको खेल सिटीका खेलाडीहरुमा सङ्क्रमणको पुष्टि भएपछि स्थगित हुन पुगेको थियो । ३० डिसेम्बरमा फुलहम र टट्नहमबीचको खेल स्थगित भयो ।