सन्दीप आबद्ध होबर्ट दश रनले हार्यो
गोरखापत्र अनलाइन
काठमाडौं, पुस २० गते । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले मेलबर्न स्टार्सविरुद्ध दश रनले हार बेहोरेको छ । बिग बैश लिग अन्तगर्तको आफ्नो आठौं खेलमा हुरिकेन्सले स्टार्सले दिएको १८४ रनको लक्ष्य प्राप्त गर्न सकेन ।
सोमबार सम्पन्न खेलमा मेलबर्नले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याउँदै होबर्ट पुरै २० ओभर खेलेपनि छ विकेटको क्षतिमा मात्र १७३ रन जोड्न सक्यो । कुनै बेला १२ औं ओभरमा मात्र दुई विकेटको क्षतिमा ८९ रन जोडन सफल होबर्टले ४५ बलमा ९५ रन ल्याउन सकेन । ओपनर म्याक डरमेटले मात्र ५८ बलमा आठ चौका र पाँच छक्काको सहयोगमा ९१ रनको उत्कृष्ट पारी खेल्नुभयो । जितका लागि छ बलमा २१ रन आवश्यक रहँदा पेभेलियन फर्किएपछि मेलबर्न विरुद्ध लगातार दोस्रो खेल जित्ने होबर्टको आशा तुहिन पुग्यो । देवीड मलानको २६ तथा पिटर हयाण्ड्सकम्बको २१ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन् ।
हेबर्टलाई १७३ रनको योगफलसम्म रोक्न साम रैनबर्डले मात्र चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिनुभयो । बिल्ली स्टैनलेक, एडम जाम्पा र लियम फ्लेचरले सामान एक एक विकेट लिए ।
इसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मेलबर्नले मार्कस स्टोइनिसको ९७ रनको उत्कृष्ट पारीको सहयोगमा उच्च योगफल बनाउन सफल भयो । १४ औं ओभरमा १०९ रनमा चौथो विकेट गुमाएको मेलबर्नले अन्तिम छ ओभरमा ७४ रन बनाउँदै छ विकेटको क्षतिमा १८३ रनको उच्च योगफल तयार गर्यो ।
हेबर्टका लागि आफ्नो पहिलो दुई ओभरमा मात्र पाँच रन खर्चेर ग्लैन म्याक्सवेलको विकेट लिनुभएका सन्दीपले अन्तिम दुई ओभरमा ३१ रन खर्चिन पुग्नुभयो । अन्तिम स्पेलमा उहाँ विकेटविहीन बन्न पुग्नुभयो । होबर्टका रिल्ली मेरेथले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिँदा नाथन एलिसले तीन विकेट लिनुभयो ।
स्टोइनिस प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।