नेशनल क्रिकेट एकेडेमी रुपन्देहीलाई काठमाडौंमा उपाधि
गोरखापत्र समाचारदाता
काठमाडौं, माघ ४ गते । क्रिकेट खेलाडीहरुको क्षमता विकासको लक्ष्यसहित आयोजित त्रिकोणात्मक अभ्यास श्रृङ्खलाको उपाधि नेशनल क्रिकेट एकेडेमी रुपन्देहीले हात पारेको छ । काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा शनिबार सम्पन्न अन्तिम खेलमा रुपन्देहीले मुलपानी क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा ल्याएको हो ।
टस जितेर ब्याटिङ रोजेको मुलपानीले १९.४ ओभरमा सबै विकेट गुमाएर ९५ रनको लक्ष्य दिएको थियो । जवाफमा रुपन्देहीले तीन विकेट गुमाएर १६.४ ओभरमै मुलापानीले दिएको लक्ष्य पुरा गरेको थियो । विजयी रुपन्देहीका लागि दिवस भुसालले ४४ बलमा ५१ रनको अर्ध शतकीय पारी खेल्नुभएको थियो । त्यस्तै प्रवेश पौडेलले १४, करन विकले ६ रन को योगदान दिनुभएको थियो । ९ रनमा नट आउट रहनुभएका प्रदिप सुवेदीले विजयी सट हान्दै २० बल अगाडि नै टोलीललाई जित दिलाउनुभएको थियो । चार ओभरमा ९ रन दिएर एक विकेट लिनुभएका भुसाल खेलको म्यान अफ दी म्याच घोषित हुनुभयो ।
प्लेयर अफ दी सिरिज घोषित निश्चल भुषालले श्रृङ्खलाभर ५.४ ओभर बलिङ गर्दै २६ रन दिएर ७ विकेट लिनुभएको थियो ।