गण्डकीको प्रदेश १ माथि दुई विकेटको जित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको छैठौं खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई दुई विकेटले हराएको छ । प्रदेश १ ले प्रस्तुत गरेको १०३ रनको लक्ष्य गण्डकीले खेल सकिन १३ ओभर बाँकी छँदा आठ विकेटको क्षतिमा १०३ रन बनाएर पुरा गर्यो ।
झिनो लक्ष्य पछ्याउने क्रममा तीन रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको गण्डकीका लागि ओपनर अर्जून कुमालले ३५ रनमा रन आउट हुनुअघि दिपक डुम्रेसँग तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्नुभयो । डुम्रेले समेत ३५ रन बनाउनुभयो । अभिषेक थापाको १३ रन अतिरिक्त अन्य सातजना ब्याट्सम्यानले दोहोर योगफल छुन सकेनन । यद्दपी गण्डकीले लक्ष्य प्राप्त गर्न सफल भयो ।
प्रदेश १ का लागि मिनास थापा र शुभशंकर उरावले दुई दुई तथा दिपेश कँडेल र हेमन्त राईले एक एक विकेट लिए ।
त्यसअघि मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको प्रदेश १ ले २७ ओभर ४ बलमा मात्र १०२ रनमा समेटिन पुग्यो । ५० रनमा मात्र दुई विकेट गुमाएको प्रदेश १ ले थप ५२ रन जोडन ८ विकेट गुमाउन पुग्यो । उसको पारीमा ओपनर मिनास थापाले २२ तथा कप्तान सिद्धान्त लोहनीले २४ रनको योगदान दिए । अर्का ओपनर दिपक पासवानले ११ तथा शुभशंकर उरावले १२ रन बनाए । दिपेश कँडेलले १० रन बनाउनुभयो । प्रदेश १ का छ जना ब्याट्सम्यानले दोहोरा योगफल छुन सकेनन ।
प्रदेश १ लाई सस्तोमै समेट्न गण्डकीका लागि सुभाष भण्डारी र विशाल पौडेलले सामान चार चार तथा विपीन खत्रीले दुई विकेट लिए । गण्डकीका पौडेल प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।