पहिलो टेष्टमा इंग्ल्याण्ड सात विकेटले विजयी
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । श्रीलङ्का विरुद्धको पहिलो टेष्ट खेल इंग्ल्याण्डले सात विकेटले जितेको छ । झिनो लक्ष्य पछ्याउने क्रममा चौथो दिनको खेलमा तीन विकेटको क्षतिमा ३८ रन जोडेको इंग्ल्याण्डले पाँचौं तथा अन्तिम दिनको खेलमा कुनै विकेट नगुमाई थप ३८ रन जोड्दै ७४ रनको लक्ष्य पुरा गरेको हो ।
इंग्ल्याण्डको जितमा जोनी बैरिष्टोले ३५ तथा डन लौरेन्सले २१ रनको पारी खेल्नुभयो । श्रीलङ्काका लागि लासिथ इम्बुल्देनियाँले दुई विकेट लिनुभयो । त्यसअघि, गलमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले आफ्नो पहिलो पारीमा मात्र १३५ रनको झिनो योगफलमा समेटिन पुग्यो । उसको पारीमा कप्तान दिनेश चन्दीमालले बनाएको २८ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । कुशल परेराले २० तथा दसुन सनाकाले २३ रनको योगदान दिनुभयो ।
इंग्ल्याण्डका लागि डम बेस्स एक्लैले पाँच तथा स्टुअर्ट ब्रोडले तीन तथा ज्याक लिचले एक विकेट लिए ।
कप्तान जोइ रुटले दोहोरा शतक लगाएपछि श्रीलङ्का विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा इंग्ल्याण्डले दुई सय ८६ रनको महत्वपूर्ण बढ्त लियो । रुटले टेष्ट क्रिकेटमा चौथो दोहोरा शतक पुरा गर्नुभयो । पहिलो पारीमा इंग्ल्याण्डले ४२१ रनको ठूलो योगफल तयार गर्यो ।
१७ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको इंग्ल्याण्डका लागि कप्तान जोइ रुटले संयमित पारी खेल्दै जोनी बैरिष्टो, डन लौरेन्ससँग अलग अलग शतकीय पारीको साझेदारी गर्नुभयो । वैरिष्टोले ४७ तथा लौरेन्सले ७३ रनको योगदान दिए । बटलर ३० रन बनाएर पेभेलियन फर्किनुभयो ।
श्रीलङ्काका लागि दिलरुवान परेराले सर्वाधिक चार तथा लासिथ इम्बुलदेनियाँले तीन र असिथा फर्नान्डोले दुई विकेट लिए ।
पहिलो पारीमा २८६ रनले पछाडि परेको श्रीलङ्काले दोस्रो पारीमा ३५९ रनमा समेटिएपछि उसले इंग्ल्याण्ड समक्ष ७४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।
चौथो दिनको खेल दुई विकेटको क्षतिमा १५६ रनबाट अगाडि बढाएको श्रीलङ्काले दोस्रो पारीमा थप २०३ रन जोड्दै ३५९ रनमा समेटिएको छ । उसको पारीमा लहिरु थिरमन्नेले शतकीय पारी खेल्नुभयो । थिरमन्ने १११ रन बनाउँदा अर्का ओपनर कुसल परेराले ६२ रनको पारी खेल्नुभयो । दुबैजनाले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे । मध्यक्रममा एन्जेलो म्याथ्युज बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन । म्याथ्युजले ७१ रन बनाएर असिथा फर्नान्डोसँग ब्याटिंग गरिरहँदा अन्तिम विकेटको रुपमा ज्याक लिचलाई विकेट थमाउन पुग्नुभयो ।
इंग्ल्याण्डका लागि ज्याक लिचले सर्वाधिक पाँच तथा डम बेस्सले तीन तथा साम कर्रनले दुई विकेट लिए ।