खेलकुद |

पृथु र आदिल खान चम्किदा बागमतीको सुदूरपश्चिममाथि १८० रनको जित

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । ओपनर ब्याट्सम्यान आदिल खान र मध्यक्रमका पृथु बाँस्कोटा चम्किँदा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि १८० रनको विशाल अन्तरको जित हात पारेको छ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीको लगातार यो दोस्रो जित हो ।
प्रधानमन्त्री कप अन्तगर्तको पाँचौं खेलमा बागमतीले प्रस्तुत गरेको ३०० रनको लक्ष्य पछ्याउँदै सुदूरपश्चिम मात्र २१ ओभरमा ११९ रनमा समेटिन पुग्यो । सुदूरपश्चिमका लागि नारायण जोशीले बनाउनुभएको ४४ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रनको पारी खेल्नुभयो । सुदूरपश्चिमको पारीका छ जना ब्याट्सम्यानले खाता नखोल्दै पेभेलियन फर्किए । पाँच रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गरेको सुदूरपश्चिमका लागि अर्जुन साऊद र नारायण जोशीले संयमित पारी खेलेर टोलिको योगफल उकासेका थिए ।
बागमतीका लागि रामनरेश गिरीले सर्वाधिक चार विकेट लिनुभयो । उहाँले पाँच ओभरमा ३२ रन खर्चिनुभयो । नन्दन यादवले पाँच ओभरमा ३५ रन खर्चेर दुई विकेट लिँदा दिपेश श्रेष्ठ, तिलक भण्डारी र विपिन आचार्यले सामान एक एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको बागमतीले आकाश थापाको रुपमा १६ रनमै पहिलो विकेट गुमाएर दबाबमा आएको थियो । पारस खड्का समेत २० रन बनाएर पेभेलियन फर्किनुभयो । अर्का ओपनर आदिल खानले पृथु बाँस्कोटासँग तेस्रो विकेटका लागि १०९ रनको उत्कृष्ट साझेदारी गर्दै टोलिको योगफल १६९ रनसम्म पुर्याउनुभयो । आदिलले ८६ बलमा दश चौकासहित ६३ रनको पारी खेल्नुभयो । पृथुले ९४ बलमा दश चौका र दुई छक्काको सहयोगमा ८४ रनको पारी खेल्नुभयो । मध्यक्रममा कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले सामान ३२ रन जोड्दा बागमतीले ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रनको सम्मानजनक योगफलसम्म पुग्न सफल भयो ।
सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक तीन तथा भोजराज भट्ट र सन्तोष भट्टले सामान दुई दुई र बिनोद लामाले एक विकेट लिए । बागमतीका लागि अविजित रहँदै दश रन र चार विकेट लिनुभएका रामनरेश गिरी प्लेयर अफ द म्याच घोषित हुनुभयो ।