खेलकुद |

अन्तिम टेष्टको अन्तिम क्षणमा भारतको अष्ट्रेलियामाथि जित

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ६ गते । भारतले अष्ट्रेलियाविरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेष्ट खेल तीन विकेटले जितेको छ । चौथो टेष्टमा जितसँगै भारतले चार म्याचको टेष्ट श्रृखंला २–१ ले जितेको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको लक्ष्य भारतले सात विकेटको क्षतिमा ३२९ रन बनाएर पूरा गर्यो । भारतको जितमा ऋषभ पन्त, शुभमन गिल र चेतेश्वर पूजाराको अर्धशतकीय पारी महत्वपूर्ण रह्यो । १८ रनमै रोहित शर्मालाई गुमाएर कमजोर सुरुवात गरेको भारतलाई शुभमन गिलले ९१ रनको उत्कृष्ट पारी खेलेर स्थिरता प्रदान गर्नुभयो । उहाँले चेतेश्वर पूजारासँग ११४ रनको साझेदारी गर्नुभयो । पूजाराले पाँचौं विकेटका लागि ऋषभ पन्तसँग ६१ रनको साझेदारी गरी ५६ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । भारतलाई जितका लागि एक सय रन आवश्यक छँदा पन्तले मयन्क अग्रवाल र वाशिंगटन सुन्दरसँग साझेदारी गरेर जित नजिक पुर्याउनुभयो । सुन्दर २२ रनमा पेभेलियन फर्किदा पन्त अत्तालिएन । उहाँले १३८ बलमा नौ चौका र एक छक्का लगाएर भारतको जित सुनिश्चित गर्नुभयो ।
अष्ट्रेलियाका लागि प्याट्ट क्युमिन्सले सर्वाधिक चार तथा नाथन लियोनले दुई र जोश हयाज्लऊडले एक विकेट लिए ।
त्यसअघि ब्रिसबेनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको थियो । मार्नस लबुस्नेले शतकीय पारी खेल्दै १०८ रन बनाएपछि अष्ट्रेलियाले औसत योगफल तयार गर्न सफल भयो । उसको पारीमा म्याथ्यु वाडेले ४५ तथा टिम पैनले ५० रनको पारी खेल्नुभयो ।
भारतका लागि टी नटराजन, श्रद्धुल ठाकुर र वाशिंगटन सुन्दरले सामान तीन तीन तथा मोहम्मद सिराजले एक विकेट लिए ।
पहिलो पारीमा १८६ रनमै छ विकेट गुमाएर कमजोर प्रदर्शन गरेको भारतका लागि पुछारका ब्याट्सम्यानहरुले उत्कृष्ट पारी खेलेपछि उसले तीन सयको योगफल कटाउन सफल भयो । भारतले दोस्रो पारीमा ३३६ रनको योगफल तयार गर्यो । वाशिंगटन सुन्दरले आफ्नो डेब्यु टेष्टमै अद्र्धशतकीय पारी खेलेर भारतको योगफल तीन सयमाथि पुर्याउनुभयो । श्रद्धुल ठाकुरले समेत अर्धशतक लगाउनुभयो । उहाँले ६७ रनको योगदान दिनुभयो । दुबैजनाले सातौं विकेटका लागि १२३ रनको साझेदारी गर्नुभयो । उक्त साझेदारी भारतीय पारीको सबैभन्दा ठूलो साझेदारी हुन पुग्यो ।
ओपनर रोहित शर्माले ४४ तथा चेतेश्वर पूजाराले २५, अजिन्क्यै रहानले ३७ तथा मयन्क अग्रवालले ३८ रनको पारी खेले ।
अष्ट्रेलियाका लागि जोश हयाजलऊडले सर्वाधिक पाँच, मिसेल स्टार्क र प्याट्ट क्युमिन्सले सामान दुई तथा नाथन लियोनले एक विकेट लिनुभयो ।
जवाबमा अष्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २९४ रनको औसत योगफल तयार गर्दा भारतले ३२८ रनको लक्ष्य पाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ५५, देविड वार्नरले ४८ तथा अर्का ओपनर मार्कस हयारिसले ३८ रनको योगदान दिए । भारतका लागि मोहम्मद सिराजले सर्वाधिक पाँच तथा श्रद्धुल ठाकुरले चार र वाशिंगटन सुन्दरले एक विकेट लिए ।