कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ६ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आठौं खेलमा कर्णालीले गण्डकीमाथि पाँच विकेटको जित हात पारेको छ । गण्डकीले प्रस्तुत गरेको २०५ रनको लक्ष्य कर्णालीले खेल सकिन १४ ओभर बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पूरा गरेको छ ।
औसत लक्ष्य पछ्याउने क्रममा शून्य रनमै पहिलो विकेट गुमाएको कर्णालीका मध्यक्रमका ब्याट्सम्यानले संयमित पारी खेलेपछि उसको जित सहज भएको हो । कर्णालीका लागि हिमांशु शाहीले अविजित रहँदै सर्वाधिक ६८ रनको पारी खेल्नुभयो । ओपनर बिपीन रावलले ४९ रन बनाउनुभयो । राज शाहले ३२ रनको योगदान दिनुभयो ।
गण्डकीका लागि विपिन खत्रीले चार तथा सुवास भण्डारीले एक विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको गण्डकीले २७ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर अर्जुन कुमालले चौथो विकेटका लागि राहुल उपाध्यायसँग ८९ रनको साझेदारी गरेर गण्डकीको पारी उकास्नुभयो । कुमालले ४६ तथा उपाध्यायले ५३ रनको योगदान दिए । मध्यक्रममा विपीन खत्रीले ३२ रनको पारी खेल्दा गण्डकीले ४२ ओभर तीन बलमा २०४ रनको औसत योगफलमा समेटिन पुग्यो ।
कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक तीन तथा अनुज चुनारा, दिवान पुनले सामान दुई दुई र रबिन्द्र शाहीले एक विकेट लिए । कर्णालीका लागि ६८ रनको अविजित पारी खेल्नुभएका हिंमाशु शाही प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।