मेस्सीमाथि दुई खेलको प्रतिबन्ध
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ७ गते । बार्सिलोनाका कप्तान लियोनल मेस्सीमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । बार्सिलोनामा आबद्ध रहँदै गर्दा मेस्सी पहिलो पटक स्पेनिस सुपर कपको फाइनलमा रातो कार्ड खाएर बाहिरिनुभएको थियो ।
बार्सिलोनाले स्पेनिस फुटबल संघ(आरएफइएफ)ले लगाएको प्रतिबन्धमाथि अपिल गर्ने जनाएको छ । ३३ वर्षीय फरवार्ड मेस्सीले बार्सिलोनामा ७५३ औं खेलमा पहिलो पटक रातो कार्ड पाउनुभएको थियो । एथलेटिको बिल्बाओ विरुद्धको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा एजर भिलालिब्रेलाई लडाएपछि मेस्सीले रातो कार्ड पाउनुभएको थियो ।
स्पेनिस फुटबल संघको अनुशासन समितिले मेस्सीको गतिबिधिलाई लिएर आक्रामक रुपमा प्रस्तुत भएको भए मेस्सीले कम्तीमा चारदेखि १२ खेलसम्मको प्रतिबन्ध खेप्नुपर्ने थियो । तर अनुशासन समितिले आक्रामक गतिबिधिको रुपमा नलिई हिंसाको रुपमा मात्रै ब्याख्या गरेकोले दुईदेखि तीन खेलको प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।
मेस्सीमाथि दुई खेलको प्रतिबन्ध लगाइएपछि उहाँले बिहीबार हुने निर्धारित कोपा डेल रेको अन्तिम ३२ को खेलमा कोर्नेला विरुद्धको खेलमा अनुपस्थित हुनुहुनेछ । त्यसैगरी, आइतबार हुने एल्की विरुद्धको ला लिगा खेलमा समेत उहाँ अनुपस्थित रहनुहुनेछ ।